
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब आए राजीनामा दिने भन्ने कुनै पनि अभिव्यक्ति आफूले नदिएको स्पष्ट पारेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआइजी विनोद घिमिरेले आइजिपी खापुङले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “प्रहरी महानिरीक्षकले कुनै पनि मञ्च वा छलफलमा यस्तो आशयको कुरा व्यक्त गर्नुभएको छैन । विभिन्न सञ्चारमाध्यममा आएका यस्ता समाचार निराधार छन् ।”
हालै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठकहरूमा समसामयिक घटनाक्रम र तिनले निम्त्याउन सक्ने सुरक्षा चुनौतीको विश्लेषणमा मात्र छलफल केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “शान्ति र सुव्यवस्था कायम राख्ने विषयमा सौहार्दपूर्ण ढंगले छलफल भएको छ । कुनै पनि बैठकमा पक्राउ वा राजीनामासँग सम्बन्धित कुरा उठेको छैन,” विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सोमबार राति गृह मन्त्रालय र बालुवाटारमा भएको छलफलमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्ने वा तत्काल पक्राउ गर्ने विषयमा कुराकानी भएको भन्ने समाचार बाहिरिएका थिए । यद्यपि, प्रहरीले यस्ता कुराकानीमा सुरक्षा चुनौतीको विश्लेषण मात्र भएको र कुनै विवादास्पद निर्णय नभएको प्रष्ट पारेको छ ।
“हामी शान्ति र सुव्यवस्था कायम राख्न प्रतिबद्ध छौं । भ्रामक समाचारले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भएकाले यथार्थ जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार मान्न अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।
यो प्रकरणले प्रहरी नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना भएको भन्दै प्रहरीले सबैलाई तथ्यमा आधारित समाचार प्रवाह गर्न आग्रह गरेको छ ।