
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले निकट युवा संघले शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्याली र सभामा रोक लगाएको छ ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न भन्दै कुनै पनि समूहलाई र्याली, जुलुस, धर्ना वा सभा गर्न अनुमति नदिइएको उल्लेख छ ।
प्रशासनले हालैको जेनजी आन्दोलनपछि भएको तोडफोड, आगजनी र सम्पत्ति क्षतिका घटनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको जनाएको छ ।
“शान्ति सुरक्षामा चुनौती थपिन सक्ने र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जटिलता आउन सक्ने भएकाले कुनै पनि र्याली वा प्रदर्शनको स्वीकृति दिइने छैन,” सूचनामा भनिएको छ ।
जिल्ला प्रशासनले पूर्वअनुमति बिना कुनै पनि कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरेको छ । यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाह र शान्ति व्यवस्थामा असर पर्न सक्ने प्रशासनको ठहर छ ।