
काठमाडौं : गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरी कार्यालयमा फिर्ता पठाएको छ । आयोगले आफ्नो कार्यक्षेत्रभित्र फौजदारी अनुसन्धान र अभियोजन नपर्ने भन्दै यो कदम चालेको हो ।
बिहीबार जारी प्रेस विज्ञप्तिमा आयोगले भदौ २३ र २४ गतेको जेनजी पुस्ता आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित जाहेरी प्रहरीमार्फत प्राप्त भएको र त्यसलाई फिर्ता पठाइएको जनाएको छ । जेनजी आन्दोलनमा मृत्यु भएकाहरूका परिवारले असोज २१ गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ओली र लेखकलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जाहेरी दिएका थिए । प्रहरीले उक्त जाहेरी दर्ता नगरी आयोगमा पठाएको थियो ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले फौजदारी कसुरको अनुसन्धान र अभियोजन आयोगको कार्यक्षेत्रभित्र नपर्ने भएकाले जाहेरी प्रहरीमै फिर्ता गरिएको जानकारी दिए । उनले नेपालको कानुनअनुसार यस्ता विषयमा सरकारी संयन्त्रले तत्काल कारबाही अघि बढाउन सक्ने र आयोगको प्रतिवेदन पर्खन नपर्ने स्पष्ट पारे ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो भने कुल ७६ जनाले ज्यान गुमाएका थिए । मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित चार जनाले दायर गरेको जाहेरीमा ओली र लेखकलाई मुख्य जिम्मेवार ठहर गर्दै कारबाहीको माग गरिएको थियो ।
आयोगले जाहेरी फिर्ता पठाएपछि यो मुद्दा अब प्रहरीले कसरी अघि बढाउँछ भन्ने विषयमा अन्योल कायमै छ ।