रसुवामा वर्षापछि बेपत्ता चार जनाको खोजी जारी, १२ जनाको उद्धार

रसुवा :अविरल वर्षाका कारण रसुवामा बेपत्ता भएका चार जनाको खोजी कार्य जारी रहेको छ । आश्विन १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाले गोसाईंकुण्ड गाउँपालिका-५, ड्याम साइड क्षेत्र प्रभावित बनेको थियो ।
ड्याम साइड इलाकातर्फ गएका १६ जनामध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको उद्धार टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याएको छ । बाँकी चार जना अझै बेपत्ता रहेका छन् ।
बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोलीहरूले ड्याम साइड, भाङ्गे झरना लगायत पाँच वटा विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।
सुरक्षाकर्मीहरूले निरन्तर खोजी कार्यलाई तीव्र पारेका छन् भने स्थानीय बासिन्दा र अन्य उद्धारकर्मीहरू पनि सहयोग गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२ १५:२३
प्रतिक्रिया दिनुहोस्