
काठमाडौं : अन्तरिम सरकारले २०८२ कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ । असोज १२ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
उनकाअनुसार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते भएका व्यक्तिहरुको पुनः उपचारका लागि अस्पतालहरु तोक्ने, ति अस्पतालहरुमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ । घाइते भएका व्यक्तिहरुको उपचारका लागि हट लाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकी निजको सम्पर्क नम्बर समेत सार्वजनिक गर्ने निर्णय गरेको छ ।
घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए । प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइते भएका व्यक्तिहरुलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको छ ।
मुग्लिन-पोखरा सडकअन्तर्गत मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको मुग्लिङ बजारको पारी पटी त्रिशूली किनार गोरखातर्फदेखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत गृहको पारीपटी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गरेको छ ।
सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५—१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।