नेपाल न्युज प्वाइन्ट डटकम
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याइरहेको सहयोगका विषयमा छलफल भयो । 

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनःनिर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए ।

उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना,  सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो । 

त्यस अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update