
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दशैं र दीपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ पुस्ताको चाहना र आकांक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले आधुनिक प्रविधि र वैज्ञानिक उपलब्धिहरूलाई अंगीकार गर्दै राष्ट्र निर्माणमा युवा पुस्ताको जोश र देशभक्तिको भावनालाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
“हाम्रो राज्य व्यवस्थाले नयाँ पुस्ताको सपना र इच्छालाई समावेश गर्नैपर्छ । आधुनिक प्रविधि र वैज्ञानिक सीपलाई ग्रहण गरेर देशलाई बलियो र आत्मनिर्भर बनाउनुपर्छ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।
यस वर्षको दशैंमा पूर्वराजा शाहले सर्वसाधारणलाई टिका नलगाउने निर्णय गरेका छन् । जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरूप्रति सम्मान र देशमा व्याप्त शोकको माहोललाई ध्यानमा राख्दै उनले सार्वजनिक टिका कार्यक्रम नगर्ने घोषणा गरेका छन् । “राष्ट्र अहिले शोक र संवेदनशील अवस्थामा छ। त्यसैले यो दसैंलाई पारिवारिक र सांस्कृतिक रूपमा मात्र मनाउन बाध्य भएका छौं,” उनले भनेका छन् ।
पूर्वराजाले देशलाई भूराजनीतिक प्रभावबाट जोगाउँदै स्वतन्त्र र अखण्ड नेपालको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भनेका छन्, “हामीले परनिर्भरता र भूराजनीतिक जालमा नफसी आफ्नै बाटो बनाउन सक्नुपर्छ ।” उनले सत्य, मर्यादा, अनुशासन र राष्ट्रप्रेमको भावनालाई अंगालेर नयाँ पुस्ताले आशा र विश्वासका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
पूर्वराजा शाहले वर्तमान शासकीय प्रणालीमा जनताको भावना र समयानुकूल सुधारको खाँचो रहेको उल्लेख गरेका छन् । “बिगार्ने र भत्काउनेतिर होइन, अब बनाउने र समृद्ध बनाउनेतिर हाम्रो ध्यान जानुपर्छ,” उनले भनेका छन् । युवा पुस्ताको ऊर्जा, नवीन सोच र देशभक्तिको भावनाले मात्र नेपाललाई समृद्धिको बाटोमा लैजान सकिने उनको भनाइ छ ।