
काठमाडौंः जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अझै एक हप्ता नेपालमा मनसुन रहने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने लक्ष्य रहेको बताए । विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रुपमा गरिरहेको जानकारी उनले दिए । विभाग, विश्व मौसम संगठन र कार्डबीच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने कार्यको लागि सहकाय भएको उनले जानकारी दिए ।
सोही सहकार्यअनुसार काम गरिरहेको उनको भनाइ छ । उनले विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान,बाढी पूर्वानुमानमा बुझाईमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिएको पनि बताए । विभागको प्राविधिक भनाई र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा विभागमाथी प्रश्न उठ्ने गरेको उनले गुनासो गरे।
उनले भने, ‘विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने हाम्रो दैनिक कार्यक्रम हो । यो हामीले दैनिक रुपमा गरिरहेका छौँ । यही कार्यक्रम अन्तर्गत हामी विश्व मौसम संगठनको पनि सदस्य राष्ट्र भएको हिसावले विपद्जन्य सूचना चाहीँ सबैमा पुग्नुपर्छ । २०२७ सम्मको टार्गेट चाहीँ अर्ली वार्मिङ फर अल भन्ने छ, त्यसमा सघाउ पुर्याउनको लागि विभाग, विश्व मौसम संगठन र कार्डबीच सहमति भएको छ ।’