नेपाल न्युज प्वाइन्ट डटकम
ऊर्जामन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्तिव्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update