आइजिपी नियुक्तिविरुद्ध कार्कीको रिटमा सुनुवाइ रोकियो

काठमाडौँ : प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले सोमबारका लागि तय गरेको सुनुवाइ स्थगित भएको छ ।

रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.लाई अदालतको म्याद तामेल गर्ने प्रक्रिया पूरा नभएकाले सुनुवाइ अघि बढ्न नसकेको हो ।

यसअघि सर्वोच्च अदालतबाट केसीका नाममा म्याद पठाइएको थियो । तर, म्यादमा उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उल्लेख भएको भन्दै प्रहरी प्रधान कार्यालयले बुझ्न अस्वीकार गरेको थियो ।

त्यसपछि रिट निवेदक कार्कीले केसीको पदनाम सच्याउन सर्वोच्च अदालतमा छुट्टै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा केसीलाई प्रहरी महानिरीक्षकका रूपमा उल्लेख गरी सम्बन्धित निवेदन र आदेशमा संशोधन गरिएको थियो ।

पदनाम सच्याएपछि पनि म्याद तामेलीको प्रक्रिया बाँकी रहेकाले सोमबार सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले रिटको अर्को सुनुवाइका लागि नयाँ मिति निर्धारण गरिसकेको छैन ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update