कहिलेकाहीँ जीवनमा यस्ता क्षणहरू आउँछन्, जहाँ वरिपरि मानिसहरू धेरै हुन्छन्, तर मन भने एक्लै हुन्छ। बोल्न चाहेका धेरै कुरा हुन्छन्, तर सुन्ने कोही हुँदैन। मनभित्र पीडा हुन्छ, तर त्यो पीडा पोख्ने शब्द भेटिँदैनन्। त्यही मौन समयमा मेरो साथी बनेर आउँछ “मेरो किताब” ।
किताब मेरा लागि केवल अक्षरहरूको थुप्रो होइन। यो मेरो मौन साथी हो, मेरो एकान्तको सहयात्री हो, मेरो मनको ऐना हो। जब संसारसँग केही बोल्न मन लाग्दैन, किताबका पानासँग कुरा गर्न मन लाग्छ। जब मन भारी हुन्छ, एउटा किताब खोलेर केही पाना पढ्नासाथ लाग्छ कसैले मेरो मन बुझिरहेको छ, मेरो पीडा सुन्न बसिरहेको छ।
दुःखमा हुँदा किताबले मलाई एक्लो हुन दिँदैन। पीडामा हुँदा यसले मेरो मनलाई बिस्तारै सम्हाल्छ। कहिलेकाहीँ एउटा वाक्यले नै मनमा वर्षौंदेखि थुप्रिएको बोझ हलुका बनाइदिन्छ। कुनै पात्रको संघर्षले आफ्नै जीवन सम्झाइदिन्छ। कुनै कथाको आँसुले आफ्नै आँखालाई भिजाइदिन्छ। अनि कुनै सफलताको कथाले फेरि उठेर हिँड्ने साहस दिन्छ।
तनावमा हुँदा पनि मेरो किताब साथमै हुन्छ र खुसी हुँदा पनि साथमै हुन्छ । मन थाकेको बेला यसले शान्ति दिन्छ, मन रमाएको बेला खुसीलाई अझ गहिरो बनाइदिन्छ। जीवनमा सबै कुरा ठीक भइरहेको दिन होस् या केही पनि ठीक नभएको दिन , किताबको साथमा कुनै भेद हुँदैन। आजको व्यस्त समयमा एकछिन फुर्सद मिल्नासाथ धेरैको हात मोबाइलतिर पुग्छ। मेरो हात भने कहिलेकाहीँ किताबतिर पुग्छ। मोबाइलले केही क्षणका लागि मनोरञ्जन दिन सक्छ, तर किताबले सोच्ने तरिका बदल्न सक्छ। मोबाइलको स्क्रिनमा समाचार, भिडियो र अनेकौँ आवाजहरू भेटिन्छन्; किताबका पानामा भने कहिलेकाहीँ आफ्नै मनको आवाज भेटिन्छ। घरमा होस् वा कार्यालयमा, बिहानको शान्त समय होस् वा रातको निद्रा आउनुअघिको एकान्त , समय मिल्यो कि किताब पल्टाउने बानी बसिसकेको छ। कहिलेकाहीँ केही पाना मात्रै पढ्ने सोच हुन्छ, तर कथाले यति तान्छ कि समय बितेको पत्तै हुँदैन। एउटा अध्याय सकिँदा अर्को अध्यायले बोलाइरहेको हुन्छ। अनि लाग्छ , किताब पढिरहेको छैन, बरु कुनै जीवनसँग यात्रा गरिरहेको छु।
किताबका पानामा कति जीवनहरू भेटिन्छन्। कसैको संघर्ष, कसैको सफलता, कसैको हार, कसैको आँसु, कसैको प्रेम, कसैको त्याग र कसैको सपना। एउटै किताबभित्र कति संसार अटाएका हुन्छन्! पात्रहरू काल्पनिक भए पनि उनीहरूका भावना कतिपय अवस्थामा आफ्नै जीवनभन्दा वास्तविक लाग्छन्। कहिलेकाहीँ संघर्षको कथा पढ्दा लाग्छ , मेरो दुःख त अन्तिम सत्य होइन रहेछ।
कसैले शून्यबाट यात्रा सुरु गरेर आफ्नो संसार बनाएको कथा पढ्दा लाग्छ , सुरुवात सानो भए पनि सपना ठूलो हुन सक्छ। कसैको असफलता पढ्दा लाग्छ , हार्नु र समाप्त हुनु एउटै कुरा होइन। कसैको जीवन पढ्दा लाग्छ , मानिसको मुस्कानभित्र पनि कति नदेखिएका युद्धहरू लुकेका हुन्छन्।
त्यसैले किताबले मलाई पढ्न मात्रै सिकाउँदैन, मानिसलाई बुझ्न पनि सिकाउँछ। कहिलेकाहीँ आफ्नै मन बुझ्न नसक्दा किताबले बाटो देखाउँछ। रिस उठेको बेला धैर्य सिकाउँछ। निराश हुँदा आशा खोज्न सिकाउँछ। गलत निर्णयको पछाडि पछुताइरहेको बेला अनुभवबाट सिक्न सम्झाउँछ। अनि जीवन धेरै कठिन भयो जस्तो लाग्दा एउटा सानो वाक्यले नै सम्झाइदिन्छ , अँध्यारो लामो भए पनि बिहान आउन छोड्दैन। किताबसँग एउटा अनौठो सम्बन्ध हुन्छ। यसले कहिल्यै ‘तिमीले मलाई किन यति ढिलो सम्झियौ?’ भनेर गुनासो गर्दैन। महिनौँसम्म नछोएर राखे पनि फेरि खोलेपछि उही आत्मीयताका साथ स्वागत गर्छ। न रिसाउँछ, न अपेक्षा राख्छ, न कुनै स्वार्थ माग्छ। हामीले समय दिएसम्म यसले आफ्ना संसारका ढोका खोलिरहन्छ।
कहिलेकाहीँ एउटा किताब उपहारमा पाइन्छ। बाहिरबाट हेर्दा त्यो केही सय पानाको वस्तुजस्तो देखिन्छ, तर भित्र खोल्दा कसैको वर्षौँको अनुभव, सोच, पीडा र ज्ञान भेटिन्छ। त्यसैले किताब उपहार दिनु भनेको केवल कागजका पाना दिनु होइन; कसैलाई नयाँ सोचको ढोका खोलिदिनु हो।
पुरानो किताबमा पनि छुट्टै आत्मीयता हुन्छ। पानाहरू पहेँलिँदै गएका हुन्छन्, कतै मोडिएका हुन्छन्, कतै आफ्नै हातले कोरिएका रेखाहरू हुन्छन्। कुनै पानामा रोकिएर पढेको दिन सम्झना आउँछ। कुनै शब्दसँग जोडिएको पुरानो भावना फेरि जाग्छ। त्यसैले किताब कहिलेकाहीँ पढिएको कथा मात्र होइन, बितेका समयको सुरक्षित सम्झना पनि बन्छ।
किताब पढ्दा हामी एउटै ठाउँमा बसेर धेरै ठाउँ घुम्न सक्छौँ। कहिले पहाडका बाटोमा पुग्छौँ, कहिले समुद्रको किनारमा, कहिले कुनै अपरिचित मानिसको जीवनमा, कहिले इतिहासको कुनै कालखण्डमा। शरीर एउटै कुर्सीमा हुन्छ, तर मन हजारौँ किलोमिटर यात्रा गरिरहेको हुन्छ। अझ ठूलो कुरा त किताबले हामीलाई आफूसँग भेट गराउँछ । अरूलाई बुझ्नुअघि आफूलाई बुझ्न सिकाउँछ। अरूको कथा पढ्दा आफ्नै कथा सम्झाउँछ। अरूको आँसु पढ्दा आफ्नै संवेदना जागाउँछ।
अरूको संघर्ष पढ्दा आफ्नै साहस खोज्न सिकाउँछ। जीवनमा साथीहरू धेरै भेटिन्छन्। केही साथी बाटोमा भेटिन्छन्, केही समयसँगै टाढा हुन्छन्, केही सम्झनामा मात्र बाँकी रहन्छन्। तर एउटा राम्रो किताब जति पटक खोले पनि फेरि त्यही आत्मीय साथी बनेर अगाडि उभिन्छ। त्यसैले मेरो लागि किताब केवल ‘पढ्ने कुरा’ होइन। यो मेरो एकान्तको साथी हो। मेरो तनावको औषधिजस्तै शान्ति हो।मेरो जिज्ञासाको उत्तर हो। मेरो सोचको ऐना हो। मेरो यात्राको सहयात्री हो। मेरो दुःखको मौन श्रोता हो। र कहिलेकाहीँ, मेरो जीवनलाई फेरि सम्हाल्ने एउटा सानो उज्यालो पनि हो।
हामीले जीवनमा धेरै कुरा किन्न सक्छौँ, तर अनुभव किन्न सक्दैनौँ। किताबले भने अरूको अनुभवबाट सिक्ने अवसर दिन्छ। हामीले संसारका सबै ठाउँमा पुग्न सक्दैनौँ, तर किताबले ती ठाउँको अनुभूति गराउन सक्छ। हामी सबै जीवन बाँच्न सक्दैनौँ, तर किताबले अनेकौँ जीवन पढ्ने अवसर दिन्छ। सायद त्यसैले किताबसँग बिताएको समय कहिल्यै खेर गएको समय लाग्दैन। बरु आफूभित्र केही थपिएको महसुस हुन्छ , एउटा नयाँ विचार, एउटा नयाँ दृष्टिकोण, एउटा नयाँ प्रश्न, कहिलेकाहीँ एउटा नयाँ सपना। आजको दौडिरहेको संसारमा हामीसँग धेरै कुरा छन्, तर आफ्नै मनसँग बस्ने समय कम हुँदै गएको छ। मोबाइलको स्क्रिनले हाम्रो ध्यान तानिरहेको छ, सामाजिक सञ्जालले हाम्रो समय खाइरहेको छ। यस्तो समयमा कहिलेकाहीँ सबै आवाज बन्द गरेर एउटा किताब खोल्नु पनि आफैँलाई दिएको सुन्दर समय हो। किनकि किताबका पानाहरू पल्टाउँदा केवल अक्षरहरू पल्टिँदैनन्, कहिलेकाहीँ जीवनका दृष्टिहरू पल्टिन्छन्। र जब कुनै दिन संसारले थकाइदिन्छ, मानिसहरूले बुझ्न छोड्छन्, मनले आफ्नै भाषा बिर्सन्छ , त्यस दिन एउटा किताब खोलेर हेर्नुहोस्।सायद त्यहाँ तपाईंले आफूलाई नै भेट्नुहुनेछ। सायद कुनै पात्रमा आफ्नो पीडा देख्नुहुनेछ। सायद कुनै कथामा आफ्नो संघर्ष भेट्नुहुनेछ। सायद कुनै पानामा भोलिको आशा भेट्नुहुनेछ। त्यसैले मेरो लागि , मेरो किताब केवल किताब होइन, मेरो मौन समयमा बोल्ने साथी हो। मेरो दुःखमा मन बुझ्ने सहारा हो। मेरो खुसीमा मुस्कुराउने साथी हो। मेरो अलमलमा बाटो देखाउने उज्यालो हो। र जीवनका अनेकौँ उतारचढावबीच मसँगै हिँडिरहने एउटा निःस्वार्थ सहयात्री हो।
अन्ततः, मानिसले मानिसलाई सधैँ बुझ्न नसक्ला, समयले सधैँ साथ नदेला, परिस्थितिले कहिलेकाहीँ एक्लो बनाउला । तर एउटा राम्रो किताब चुपचाप छेउमा बसेर हामीलाई फेरि सम्झाइरहन्छ , जीवन अझै बाँकी छ, कथा अझै सकिएको छैन, र अर्को पाना अझै पल्टाउन बाँकी छ । किताबसँगको सम्बन्ध शब्दमा मात्र बाँध्न सकिँदैन । यो त त्यस्तो निःशब्द सम्बन्ध हो, जहाँ बोल्ने किताब हुन्छ र सुन्ने मन । जब संसारका आवाजहरूबीच आफ्नै आवाज हराउन थाल्छ, किताबका पानाले फेरि आफूभित्र फर्किन सिकाउँछन्। जब जीवनका बाटाहरू धमिलिन्छन्, कुनै एउटा वाक्यले उज्यालोको सानो बाटो देखाइदिन्छ।
कहिलेकाहीँ हामीलाई समाधानभन्दा बढी सम्झिने कोही चाहिन्छ, उपदेशभन्दा बढी बुझ्ने कोही चाहिन्छ, अनि भीडभन्दा बढी एकान्तमा साथ दिने कोही चाहिन्छ। मेरा लागि त्यो साथी किताब हो । यसले मेरो आँसु पुछ्दैन, तर आँसुको अर्थ बुझाउँछ। यसले मेरो पीडा हटाउँदैन, तर पीडासँग हिँड्ने साहस दिन्छ। यसले मेरो जीवन बदलिदिँदैन, तर जीवनलाई हेर्ने मेरो दृष्टि बदलिदिन्छ। त्यसैले किताब मेरा लागि केवल पानाहरूमा बाँधिएको कथा होइन, यो मेरो मौनताको आवाज हो, मेरो थकाइको विश्राम हो, मेरो दुःखको सहारा हो, मेरो जिज्ञासाको उत्तर हो, र जीवन बुझ्दै जाने यात्राको सबैभन्दा आत्मीय सहयात्री हो। जीवनको कथा लेखिँदै जाँदा धेरै पात्रहरू आउँछन्, धेरै पाना पल्टिन्छन्, केही अध्यायहरू खुसीका हुन्छन्, केही आँसुले भिजेका । तर जबसम्म हातमा किताब हुन्छ, हरेक अन्त्यपछि अर्को पाना पल्टाउने आशा जीवित रहन्छ। किनकि किताबले सधैँ एउटा कुरा सम्झाइरहन्छ , कथा जहाँ कठिन भए पनि, अन्तिम पाना नपल्टिएसम्म जीवनको कथा सकिएको हुँदैन।



