नेपाल न्युज प्वाइन्ट डटकम
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप लगाएका छन्। सरकारको इच्छा नै कानुन र शासकको बोली नै अन्तिम आदेश ठान्ने प्रवृत्ति देखिएको भन्दै उनले यस्तो कार्यशैलीले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रश्न उठाएको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकारलाई नियन्त्रणमा लिने र पछि चौतर्फी विरोध भएपछि छाड्ने घटनालाई सरकारको कार्यशैलीको उदाहरणका रूपमा प्रस्तुत गरे। उनका अनुसार सञ्चारमाध्यममाथिको हस्तक्षेप सामान्य घटना नभई संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको गम्भीर विषय हो।

थापाले प्रहरी आफैँले निर्णय गरेर सञ्चारगृहको न्यूजरुममा प्रवेश गरी पत्रकार पक्राउ गर्ने अवस्था नरहेको दाबी गर्दै यसमा उच्च राजनीतिक तहको निर्देशन रहेको आशंका व्यक्त गरे। उनले पक्राउ गर्ने र आलोचना बढेपछि छाड्ने सरकारी शैलीले राज्यका निकायको स्वायत्तता तथा कानुनी प्रक्रियामाथि प्रश्न उठाएको बताए।

‘हामी नै राज्य हौँ, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत र प्रहरी हाम्रै आदेश पालना गर्ने निकाय हुन् भन्ने सोच देखिएको छ,’ थापाले भने, ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ। मेरो इच्छा नै कानुन हो भन्ने प्रवृत्तिले सीमा नाघेको छ।’

उनले सञ्चारमाध्यममा प्रहरी परिचालन भएको घटनाबारे सरकार र प्रहरी प्रशासनबाट आएका अभिव्यक्तिबीच समेत विरोधाभास देखिएको बताए। प्रधानमन्त्रीको सचिवालयले घटनाबारे जानकारी नभएको बताएको तर प्रहरी प्रधान कार्यालयको पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्रीको सचिवालयको चासो र दबाबका कारण पत्रकारलाई नियन्त्रणमा लिइएको उल्लेख भएको उनको भनाइ थियो।

थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गराउने घटनाले विगतको पञ्चायती शासनकालको झल्को दिएको टिप्पणी गरे। सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकारलाई नियन्त्रणमा लिनु र पछि विरोधका कारण छाड्नुले सरकारको प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोण स्पष्ट हुने उनको दाबी थियो।

यसैबीच, कांग्रेस सभापति थापाले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि पनि प्रश्न उठाएका छन्। विगतमा कांग्रेस सरकारमा रहँदा गलत कामको विरोध गर्ने रास्वपाले अहिले आफ्नै पार्टी सहभागी सरकारका विवादास्पद गतिविधिमा प्रभावकारी हस्तक्षेप गर्न नसकेको उनको आरोप छ।

विगतमा गठबन्धन सरकारका निर्णय र कामकारबाहीप्रति असहमति हुँदा कांग्रेसले सरकारभित्रैबाट आवाज उठाएको स्मरण गराउँदै उनले रास्वपालाई अहिले पनि त्यस्तै भूमिका निर्वाह गर्न आग्रह गरे। औपचारिक वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने भन्दै उनले सरकारका गलत कदम सच्याउन ठोस पहल गर्नुपर्ने बताए।

‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ,’ थापाले भने, ‘साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपाको संसदीय दलको बैठक बसोस्, प्रधानमन्त्रीलाई बोलाइयोस्, स्पष्ट निर्देशन दिइयोस् र त्यसलाई कार्यान्वयन गरियोस्।’

उनले सञ्चारगृह परिसर तथा आफ्नो निवासअगाडि सवारीसाधन पार्किङ गरिएको विषयमा पनि रास्वपाले छानबिन गर्ने बताए पनि अहिलेसम्म त्यसको परिणाम नदेखिएको टिप्पणी गरे। रास्वपाले निर्देशन दिने तर सरकारले त्यसविपरीत काम गरिरहने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

थापाले संविधान, प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि बहानामा हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। सरकारलाई आफ्ना निर्णय र कार्यशैली सच्याउँदै विधिको शासन, लोकतान्त्रिक अभ्यास र संवैधानिक व्यवस्थाको सम्मान गर्न उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update