नेपाल न्युज प्वाइन्ट डटकम
सल्यानको छत्रेश्वरीमा वडास्तरबाटै योजना सम्झौता र बैंक खाता सञ्चालन

सल्यान : विकास योजना सम्झौता तथा उपभोक्ता समितिको बैंक खाता सञ्चालनका लागि गाउँपालिकाको केन्द्र र बैंकसम्म धाउनुपर्ने बाध्यता हटाउन सल्यानको छत्रेश्वरी गाउँपालिकाले वडास्तरमै सेवा प्रवाह सुरु गरेको छ ।

आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विकास योजनाको सम्झौता प्रक्रियालाई सहज, छिटो र सेवाग्राहीमैत्री बनाउन गाउँपालिकाले कर्मचारी तथा प्राविधिक टोलीसहित घुम्ती शिविर सञ्चालन गरेको हो । शिविरमार्फत उपभोक्ता समितिलाई आफ्नै वडा कार्यालयबाट योजना सम्झौता, आवश्यक कागजात तयारी तथा बैंक खाता सञ्चालनका प्रक्रियामा सहजीकरण गरिँदै आएको छ ।

गाउँपालिकाका अनुसार हालसम्म वडा नम्बर २, ४ र ५ मा घुम्ती शिविर सम्पन्न भइसकेका छन् । बाँकी वडा नम्बर ६, ७, १ र ३ मा पनि क्रमशः शिविर सञ्चालन गरी सबै वडाका योजनाको सम्झौता प्रक्रिया वडास्तरबाटै पूरा गर्ने तयारी छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाभित्र उपभोक्ता समितिमार्फत करिब १४० वटा विकास योजना सञ्चालन हुनेछन् । ती योजनाको कार्यान्वयन समयमै अघि बढाउन र सम्झौताका क्रममा हुने प्रशासनिक झन्झट कम गर्न घुम्ती शिविर प्रभावकारी हुने गाउँपालिकाको अपेक्षा छ ।

शिविरमा प्रमुख प्रशासकीय अधिकृतसहित आर्थिक प्रशासन, योजना तथा प्राविधिक शाखाका प्रमुख र प्रतिनिधिहरू परिचालन गरिएको छ । उनीहरूले योजना सम्झौताका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा गर्न उपभोक्ता समितिलाई प्रत्यक्ष सहयोग गरिरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले नागरिकलाई सामान्य प्रशासनिक कामका लागि गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले वडामै सेवा पुर्‍याइएको बताए । सेवाग्राहीको समय र खर्च बचत गर्दै विकास निर्माणका कामलाई समयमै अघि बढाउन स्थानीयस्तरमै सेवा उपलब्ध गराउने नीति लिइएको उनको भनाइ छ ।

यसअघि नै गाउँपालिकाले कार्यपालिका बैठकमार्फत उपभोक्ता समिति समयमै गठन गर्ने निर्णय गरेको थियो । योजना सम्झौता र बैंकिङ प्रक्रियालाई समेत वडास्तरबाट सहजीकरण गर्न थालिएपछि विकास निर्माणका काममा हुने ढिलाइ कम हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले विकास योजनाको कार्यान्वयनलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउँदै नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update