नेपाल न्युज प्वाइन्ट डटकम
सोमपालको अलराउन्ड प्रदर्शनमा कर्णालीको लगातार दोस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विरटानगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो ।

विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै १८७ रनको लक्ष्य पूरा गरेको हो । कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ६२ रनसहित अविजित रहे। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

पवन सर्राफले २८ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ३६ रनको योगदान गरे । अरिफुल इस्लामले १२ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ३२ रन बनाए । गुल्सन झाले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाउँदा दीपक डुम्रेले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

विराटनगरका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिँदा सन्दीप लामिछाने, चरिथ असलंका र प्रतिश जिसीले समान १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर लोकेश बमले अर्धशतकीय इनिङ खेले । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौकाको सहयोगमा ८७ रन बनाए । एन्जेलो म्याथ्युजले २३ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा २७ रनको योगदान दिए । बसिर अहमदले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १३ रन बनाए ।

कर्णालीका लागि कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । नन्दन यादव र मार्क वाटले समान १–१ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update