नेपाल न्युज प्वाइन्ट डटकम
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनी ५१ रनमा अविजित रहे । ३६ बल खेलेका ऐरीले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, ईशान पाण्डेले ३७ रनको योगदान दिए भने ब्रान्डन म्याकमुलनले २२ तथा सैफ जइबले १५ रन जोडे ।

बलिङतर्फ पोखराका मेहदी हसन, धनन्जय लक्षण र शकिब अल हसनले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।

पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।

सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १-१ विकेट हात पारे ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update