नेपाल न्युज प्वाइन्ट डटकम
एन्फा मुख्यालयको ताला खोलियो, वरिष्ठ उपाध्यक्ष खड्काले बोलाए कार्यसमिति बैठक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित केन्द्रीय कार्यालयको ताला वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा खोलिएको छ ।

अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको अनुपस्थितिमा खड्कासहित कार्यसमितिका नौ जना पदाधिकारी तथा सदस्यले कार्यालयको ताला खोलेका हुन् ।

कार्यालयको ताला खोलेपछि वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा बसेको छलफलले आगामी शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । नेपाली फुटबलमा देखिएको संकट समाधान गर्दै एन्फालाई निकास दिन बैठक आह्वान गरिएको खड्काले बताएका छन् ।

छलफलमा खड्कासहित उपाध्यक्षत्रय विराटजंग शाही, दीपक खतिवडा र कुमार केसी तथा सदस्यहरू रुपेश अधिकारी, टीका लामा, भरत बुढाथोकी, महेन्द्र क्षेत्री र मनिष जोशी सहभागी थिए ।

खड्काका अनुसार आगामी बैठकमा एन्फाको तहगत निर्वाचन र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन मुख्य एजेन्डाका रूपमा रहनेछन् ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ । निलम्बनका कारण नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितासमेत प्रभावित भएको अवस्थामा एन्फाभित्रको नेतृत्व विवाद र निर्वाचनको विषय थप पेचिलो बनेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update