नेपाल न्युज प्वाइन्ट डटकम
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा छापा मारेको छ ।

विभागको टोलीले बुधबार दिउँसोदेखि जबराको काठमाडौंस्थित निवाससहित उनीसँग निकट मानिएका व्यक्तिहरूको घरमा खोजतलास गरिरहेको हो । जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत विभागको टोली पुगेको बताइएको छ ।

जबराका नातेदारको घरमा पनि विभागले खोजतलास गरेको जनाइएको छ । उनका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नाता पर्ने नवीन बस्नेतको निवासमा समेत टोली पुगेको बताइएको छ ।

छापा मार्ने क्रममा अनुसन्धानसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा अन्य सामग्री संकलन गरिएको बताइएको छ । यद्यपि, विभागले बरामद भएका सामग्री तथा अनुसन्धानको विषयमा औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पछिल्लो समय जबरा र उनीसँग जोडिएका व्यक्तिहरूको आर्थिक कारोबार तथा सम्पत्तिसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको बुझिएको छ । सोही अनुसन्धानको क्रममा विभिन्न व्यक्तिको निवासमा एकैपटक खोजतलास गरिएको हो ।

यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि जबरालाई उनकै निवासबाट नियन्त्रणमा लिएको थियो । सुरक्षा जोखिम रहेको भन्दै उनलाई मध्यरातमा घरबाट नियन्त्रणमा लिएर करिब १२ घण्टासम्म हिरासतमा राखिएको थियो । त्यस क्रममा उनको मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको थियो । पछि उनलाई छाडिएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update