नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय, यी हुन् मन्त्रीसरह सुविधा पाउने सल्लाहकार

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा कार्यरत सदस्यहरूको विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकार, विज्ञ तथा स्वकीय कर्मचारीसहित कुल २५ सदस्यीय टोली रहेको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्रीको टोलीमा चार जना सल्लाहकार, एक जना विज्ञ र २० जना स्वकीय कर्मचारी समावेश छन् । सचिवालयभित्रका केही पदाधिकारीलाई मन्त्री तथा राज्यमन्त्रीसरहको सेवा–सुविधा प्रदान गरिएको छ ।

प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह र स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई मन्त्रीसरहको सुविधा तोकिएको छ । अग्रवाल भने अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा कार्यरत छन् ।

त्यसैगरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा–सुविधा प्रदान गरिएको छ ।

सचिवालयको प्रशासनिक नेतृत्व प्रमुख स्वकीय सचिव सुवास शर्माले सम्हालिरहेका छन् । स्वकीय सचिवमा नवीन भण्डारी रहेका छन् भने सहसचिवस्तरमा सञ्जीव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक) र विश्व राई (सामाजिक विकास विज्ञ) कार्यरत छन् । उनीहरूलाई रा.प. प्रथम श्रेणी सरह सुविधा उपलब्ध गराइएको छ ।

त्यसैगरी उपसचिवस्तरमा प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य जिम्मेवारीमा छन्। सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन) र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा) कार्यरत छन् ।

शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाई (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेमनारायण दास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राजकुमार गौतम र बेनिस कार्की कार्यरत रहेको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते पदभार ग्रहण गरेका थिए । प्रधानमन्त्री कार्यालयले सचिवालयको पारदर्शिता बढाउने उद्देश्यले उक्त विवरण सार्वजनिक गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update