नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट पारित, एआई र चिकित्सा शिक्षामा जोड

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पारित गरेको छ । विश्वविद्यालयको ४३औँ सभाले आगामी वर्षका लागि प्रस्तावित आय-व्यय विवरण, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभामा रजिस्ट्रार प्रा.डा. पन्ना बहादुर थापाले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम पारित भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार विकास र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ । गोठगाउँमा रहेको ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना निर्माण तथा विकास गर्ने योजना अघि सारिएको छ ।

प्रविधितर्फ कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम निर्माण गरी सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ । चिकित्सा शिक्षा र इन्जिनियरिङतर्फ पनि आवश्यकता र बजार अनुकूल विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति लिइएको छ ।

विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवा प्रणालीलाई एकीकृत डिजिटल इकोसिस्टममा रूपान्तरण गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसमेत बजेटमा समेटिएको छ ।

चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना विश्वविद्यालयले अघि सारेको छ । कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने कार्यक्रमसमेत राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update