काठमाडौं : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् ।
बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न निर्देशन दिएका हुन् । उनले नियमापत्ति गर्ने नाममा विषयवस्तुभन्दा बाहिर जाने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सदनमा कुनै एक राजनीतिक दलका नेताले अर्को दलप्रति लक्षित गर्दै आफ्ना धारणा राखेकै आधारमा सदनमा उठेर विरोध जनाइ नियमापत्ति जनाउँदै आरोप-प्रत्यारोपमा उत्रिने प्रवृत्ति बढेको थियो । सोही प्रवृत्तिलाई लक्षित गर्दै सभामुख अर्यालले सांसदहरूलाई सचेत गराएका हुन् ।
सभामुख अर्यालले स्पष्ट पार्दै भने, ‘नियमापत्ति गर्दा नियमावलीको व्याख्या, स्पष्ट आधार र औचित्य पुष्टि हुने गरी मात्र गर्नुपर्छ । बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य संसदीय मर्यादा र गरिमाका लागि सोभनीय हुँदैन ।’ नियमापत्तिलाई भाषण गर्ने माध्यम बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।


