कहिलेकाहीँ वरिपरि हेर्दा लाग्छ, हामी एउटै ठाउँमा बसेका छौँ, तर एकअर्कासँग छैनौँ । घरमा परिवारका सदस्यहरू सँगै छन् तर सबैको नजर मोबाइलको स्क्रिनमा छ । चिया अगाडि छ, खाना अगाडि छ, आफ्ना मान्छे अगाडि छन् तर कुराकानी हराउँदै गएको छ । बच्चा मोबाइलमा, युवा मोबाइलमा, अभिभावक मोबाइलमा र वृद्धवृद्धासमेत मोबाइलमै व्यस्त छन् ।
हामी पहिले मानिसको अनुहार हेरेर उसको अवस्था बुझ्थ्यौँ । अहिले उसको ‘स्टाटस’ हेरेर बुझ्न खोज्छौँ । पहिले छिमेकीको घरमा के भइरहेको छ भनेर सोधिन्थ्यो । अहिले फेसबुकमा के भइरहेको छ भनेर हेर्छौं । पहिले समाचार सुन्न रेडियो, टेलिभिजन वा पत्रिका कुर्नुपर्थ्यो । अहिले एउटा भिडियो, एउटा पोस्ट वा एउटा शीर्षकले केही सेकेन्डमै हाम्रो धारणा बनाइदिन्छ ।
प्रश्न अब यो होइन कि हामी सामाजिक सञ्जाल प्रयोग गर्छौं कि गर्दैनौँ ? प्रश्न यो हो सामाजिक सञ्जालले हामीलाई प्रयोग गर्न थालेको त छैन ? ‘भाइरल’ हुने दौडमा हामी कहाँ पुग्दै छौँ ? आज सामाजिक सञ्जालमा एउटा शब्द अत्यन्त शक्तिशाली भएको छ, ‘भाइरल’ ।
कुनै कुरा भाइरल भयो भने त्यसलाई सफल मानिन्छ । धेरै भ्युज आयो भने राम्रो सामग्री मानिन्छ । हजारौँ लाइक आए भने लोकप्रिय ठानिन्छ । तर हामीले कहिल्यै सोच्यौँ – भ्युज धेरै हुनु भनेको सत्य हुनु हो ? लाइक धेरै हुनु भनेको सही हुनु हो ? कमेन्ट धेरै हुनु भनेको समाजका लागि उपयोगी हुनु हो ? तर अहिले धेरै मानिसहरूका लागि तथ्यभन्दा बढी महत्वपूर्ण भएको छ – कति जनाले हेरे, कति जनाले सेयर गरे र कति जनाले प्रतिक्रिया दिए । यही मानसिकताले सामाजिक सञ्जालमा एउटा अस्वस्थ प्रतिस्पर्धा जन्माएको छ ।
कसैले सामान्य घटनालाई असामान्य बनाएर प्रस्तुत गर्छ । कसैले आधा सत्यलाई पूरा सत्यजस्तो बनाउँछ । कसैले पुरानो भिडियोमा नयाँ शीर्षक राख्छ । कसैले अरूको दुःखलाई ‘कन्टेन्ट’ बनाउँछ । कसैले मानिसको व्यक्तिगत जीवनलाई सार्वजनिक तमासा बनाउँछ । किन ? भ्युजका लागि । किन ? फलोअर्सका लागि । किन ? भाइरल हुनका लागि ।
अझ दुःखद् कुरा त के छ भने, कहिलेकाहीँ हामी दर्शक पनि त्यही दौडको हिस्सा बनिरहेका हुन्छौँ । हामीले हेरेर, कमेन्ट गरेर, सेयर गरेर र प्रतिक्रिया दिएर त्यस्ता सामग्रीलाई अझ ठुलो बनाइरहेका हुन्छौँ ।
अझ सामाजिक सञ्जालका एल्गोरिदमले मानिसको ध्यान तान्ने, भावनात्मक प्रतिक्रिया उत्पन्न गर्ने सामग्रीलाई बढी फैलाउन सक्ने भएकाले सनसनीपूर्ण सामग्रीले तथ्यपूर्ण तर शान्त समाचारलाई पछाडि पार्न सक्छ । नेपालसम्बन्धी अध्ययनले पनि सामाजिक सञ्जालमा गलत सूचना फैलिनुमा भावनात्मक सामग्री, पुनःप्रयोग गरिएका पुराना सामग्री र भ्रामक सन्दर्भको भूमिका देखाएका छन् । त्यसैले अहिलेको ठुलो चुनौती समाचारको अभाव होइन, सही समाचार छुट्याउने क्षमता हो ।
पहिले कसैले ‘मैले समाचारमा सुनेँ’ भन्यो भने हामी केही हदसम्म विश्वास गर्थ्यौं । अहिले कसैले ‘फेसबुकमा आएको छ’ भन्यो भने त्यो पर्याप्त प्रमाण हुन सक्दैन । किनभने, सामाजिक सञ्जालमा सत्य र असत्य एउटै स्क्रिनमा सँगै बसिरहेका छन् ।
एउटा पोस्ट वास्तविक हुन सक्छ । अर्को पोस्ट आधा सत्य हुन सक्छ । अर्को पोस्ट पुरानो भिडियो हुन सक्छ । अर्को पोस्ट सम्पादन गरिएको हुन सक्छ । अझ अहिले एआई प्रयोग गरेर वास्तविकजस्तो देखिने फोटो, आवाज र भिडियोसमेत बनाउन सकिने अवस्था छ ।
त्यसैले कुनै समाचार देख्नेबित्तिकै सेयर गर्नुभन्दा पहिले केही प्रश्न सोधौँ, यो समाचार कहाँबाट आएको हो ? यसको मूल स्रोत के हो ? अन्य विश्वसनीय सञ्चारमाध्यमले पनि यही समाचार दिएका छन् कि छैनन् ? फोटो वा भिडियो पुरानै त होइन ? शीर्षक र वास्तविक सामग्री एउटै कुरा भन्छन् कि फरक ? यो सामग्रीले मलाई तथ्य दिन खोजेको हो कि रिस, डर वा उत्तेजना पैदा गर्न खोजेको हो ? यति मात्र सोच्ने बानीले पनि धेरै गलत सूचना रोक्न सकिन्छ । नेपालमा डिजिटल तथा मिडिया साक्षरताको आवश्यकता बढ्दै गएको कारण पनि यही हो ।
झुटो समाचार आफैँ शक्तिशाली हुँदैन । हामीले पत्याएपछि मात्र त्यो शक्तिशाली हुन्छ । आफ्नै साथीले पठाएको छ भने हामी धेरैपटक नसोची विश्वास गर्छौं । आफ्नो परिवारको सदस्यले पठाएको छ भने झन् विश्वास गर्छौं । आफूले समर्थन गर्ने व्यक्ति वा समूहसँग मिल्ने कुरा छ भने प्रमाण खोज्ने आवश्यकता नै महसुस गर्दैनौँ । यही कारणले गलत सूचना फैलिन सजिलो हुन्छ ।अध्ययनहरूले पनि नेपालमा सामाजिक सञ्जालमा फैलिने गलत सूचना परिवार, साथीभाइ र परिचित व्यक्तिहरूबाट अगाडि बढ्ने अवस्था देखाएका छन् । त्यसैले ‘मेरो चिनेजानेको मान्छेले पठाएको हो’ भन्ने कुरा समाचार सत्य भएको प्रमाण होइन । बरु कहिलेकाहीँ हामीले विश्वास गर्ने व्यक्तिबाट आएको गलत सूचना झन् छिटो फैलिन सक्छ ।
सामाजिक सञ्जालको अर्को गम्भीर समस्या हो, भाषाको स्तर । कुनै विषय मन परेन भने तर्क गर्नुभन्दा गाली गर्ने । विचार फरक भयो भने व्यक्तिमाथि जाने । कुनै महिलाले आफ्नो विचार राखिन् भने उनको विचारमाथि बहस गर्नुभन्दा व्यक्तिगत जीवनमाथि टिप्पणी गर्ने । कसैको फोटो राम्रो लागेन भने अपमान गर्ने । कसैले गल्ती गर्यो भने सच्याउनेभन्दा सार्वजनिक रूपमा होच्याउने ।
हामीले यस्तो वातावरण बनाउँदै छौँ जहाँ मानिसहरू आफ्नो विचार राख्न डराउन थालेका छन् । हामीले आफ्नो औँलाले लेखेको एउटा वाक्यले अर्को मानिसको मनमा कस्तो असर पार्छ भन्ने कुरा बिर्सिरहेका छौँ । स्क्रिनको अर्को छेउमा पनि भावना भएको मानिस नै छ भन्ने हेक्का नै राख्दैनौँ ।
सबैभन्दा गम्भीर प्रश्न हाम्रा बालबालिकासँग जोडिएको छ । बच्चा रोयो, मोबाइल दिइयो । बच्चाले खाना खाएन, मोबाइल दिइयो । बच्चा व्यस्त भएन, मोबाइल दिइयो ।
बिस्तारै मोबाइल बच्चालाई शान्त राख्ने साधनबाट दैनिक जीवनको आवश्यक वस्तु जस्तो बन्न पुग्छ । तर बच्चाले मोबाइलबाट के सिकिरहेको छ ? कति समय स्क्रिनमा बिताइरहेको छ ? उसले हेर्ने सामग्री कस्तो छ ? उसले खेल्न, पढ्न, प्रश्न गर्न र परिवारसँग कुरा गर्न कति समय पाएको छ ? यी प्रश्नहरू हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
बच्चाको हातमा मोबाइल हुनु मात्र समस्या होइन । मोबाइलले उसको वास्तविक संसारलाई विस्थापित गर्न थाल्नु समस्या हो । बाहिर खेल्ने समय कम हुनु, किताब पढ्ने बानी घट्नु, परिवारसँग प्रत्यक्ष कुराकानी कम हुनु र निरन्तर स्क्रिनतर्फ ध्यान जानु बालबालिकाको समग्र विकासका लागि चिन्ताको विषय बन्न सक्छ ।
आजको युवासँग अवसर धेरै छन् । मोबाइलबाट संसारको ज्ञान लिन सकिन्छ । अनलाइन शिक्षा लिन सकिन्छ । सीप सिक्न सकिन्छ । व्यवसाय गर्न सकिन्छ । आफ्नो प्रतिभा विश्वसामु देखाउन सकिन्छ । तर यही मोबाइलले समय चोर्न पनि सक्छ । ‘५ मिनेट मात्र टिकटक हेर्छु ।’ ‘एउटा भिडियो मात्र हेर्छु ।’ ‘फेसबुक एकपटक मात्र खोल्छु ।’ भन्दै सुरु भएको समय कहिलेकाहीँ १ घण्टा, २ घण्टा हुँदै दिनको ठुलो हिस्सा बन्न पुग्छ ।
समस्या मोबाइल होइन । समस्या मोबाइलमाथिको नियन्त्रण हराउनु हो । हामी मोबाइल चलाउँछौँ कि मोबाइलले हाम्रो ध्यान चलाइरहेको छ, यो प्रश्न प्रत्येक युवाले आफैँलाई सोध्नुपर्ने समय आएको छ । यो परिवर्तन युवामा मात्र सीमित छैन । आज हाम्रा बुबाआमा, हजुरबा–हजुरआमासमेत मोबाइलबाट संसारसँग जोडिनुभएको छ । टाढा रहेका छोराछोरीसँग भिडियो कल गर्न सकिन्छ । समाचार हेर्न सकिन्छ । धार्मिक तथा शैक्षिक सामग्री सुन्न सकिन्छ । त्यसैले डिजिटल साक्षरता युवाको मात्र आवश्यकता होइन । बालकदेखि वृद्धसम्म सबैका लागि आवश्यक सीप हो ।
घर एउटै, संसार अलग अलग । आजको सबैभन्दा पीडादायी दृश्य सायद यही हो । एउटै घरमा ४ जना मानिस छन् । चारै जनाको हातमा ४ वटा मोबाइल छन् । सबैको स्क्रिनमा ४ वटा फरक संसार छन् । तर एकअर्कासँग कुरा गर्ने समय छैन । आमालाई छोराको मोबाइलमा के भइरहेको छ थाहा छैन । छोरालाई बाबुको मनमा के भइरहेको छ थाहा छैन । हामी हजारौँ किलोमिटर टाढा रहेको मानिससँग जोडिएका छौँ तर कहिलेकाहीँ एकै कोठामा बसेको आफ्नै मानिससँग टाढिँदै गएका छौँ ।
सामाजिक सञ्जाल खराब मात्र होइन । यसले धेरै राम्रो काम गरेको छ । टाढा रहेका परिवारलाई जोडेको छ । आवाज नपुगेका मानिसलाई आवाज दिएको छ । प्रतिभालाई अवसर दिएको छ । विद्यार्थीलाई ज्ञानको ढोका खोलेको छ । व्यवसायलाई बजार दिएको छ । विपद्का बेला सूचना र सहयोग जुटाउन मद्दत गरेको छ । तर, कुनै पनि प्रविधिको मूल्य त्यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुरामा निर्भर हुन्छ । मोबाइलले ज्ञान दिन पनि सक्छ, समय चोर्न पनि सक्छ । सामाजिक सञ्जालले सम्बन्ध जोड्न पनि सक्छ, सम्बन्ध कमजोर बनाउन पनि सक्छ । सत्य समाचार फैलाउन पनि सक्छ, झुट फैलाउन पनि सक्छ ।
हामी प्रायः भन्छौँ – ‘आजकलका बच्चाहरू बिग्रिए ।’ ‘युवाहरू मोबाइलमै झुन्डिए ।’ ‘सामाजिक सञ्जालले समाज बिगार्यो ।’ र, एउटा प्रश्न हामी आफैँलाई पनि सोधौँ, बच्चाले मोबाइल चलाएको देखेर हामीले मोबाइल खोस्छौँ कि आफूले पनि मोबाइल राख्छौँ ? बच्चालाई स्क्रिन कम चलाऊ भन्छौँ, तर हामी आफैँ खाना खाँदा मोबाइल चलाउँदैनौँ ? बच्चालाई किताब पढ भन्छौँ, तर उसले घरमा हामीलाई किताब पढिरहेको देख्छ ? बच्चालाई सभ्य भाषामा बोल भन्छौँ तर हामी सामाजिक सञ्जालमा अरूलाई गाली गरिरहेका छैनौँ ? परिवर्तनको सुरुआत अरूबाट होइन, आफैँबाट हुनुपर्छ ।
हामीले सामाजिक सञ्जाल छोड्नुपर्छ भन्ने होइन । हामीले सचेत भएर प्रयोग गर्न सिक्नुपर्छ । समाचार देख्दा तुरुन्त सेयर नगर्ने । शीर्षक मात्र पढेर निष्कर्ष ननिकाल्ने । अज्ञात स्रोतबाट आएको सनसनीपूर्ण सामग्रीमा शंका गर्ने । फोटो र भिडियोको सन्दर्भ जाँच गर्ने । अपमानजनक कमेन्ट लेख्नुअघि एकपटक सोच्ने । अरूको निजी जीवनलाई मनोरञ्जन नबनाउने । बच्चालाई मोबाइल दिने मात्र होइन, त्यसको प्रयोगमा अभिभावकीय निगरानी र संवाद राख्ने । दिनको केही समय नो–मोबाइल समय बनाउने । खाना खाँदा मोबाइल छोड्ने । परिवारसँग कुरा गर्दा मोबाइल छोड्ने । सुत्नुअघि मोबाइलभन्दा केही समय आफ्नै मनसँग कुरा गर्ने । यी साना कुराले ठुलो परिवर्तन ल्याउन सक्छन् ।
मोबाइल केही घण्टा बन्द गर्दैमा समस्या समाधान हुँदैन । हामीलाई त्योभन्दा ठुलो कुरा चाहिएको छ, डिजिटल विवेक । के हेर्ने ? के नहेर्ने ? के विश्वास गर्ने ? के प्रश्न गर्ने ? के सेयर गर्ने ? के रोक्ने? कसैलाई प्रतिक्रिया दिँदा कहाँसम्म जाने ? यिनै प्रश्नको उत्तर खोज्नु डिजिटल विवेक हो ।
आज नेपालमा डिजिटल र मिडिया साक्षरताको आवश्यकता झन् महŒवपूर्ण हुँदै गएको छ, किनकि सामाजिक सञ्जाल सूचना प्राप्त गर्ने प्रमुख माध्यम बन्दै जाँदा गलत सूचना, घृणात्मक सामग्री र भ्रामक सामग्रीसँग जुध्ने क्षमता पनि आवश्यक हुँदै गएको छ ।
हामी कस्तो समाज बनाउन चाहन्छौँ ? यस्तो समाज जहाँ मानिसको मूल्य उसको भ्युजले निर्धारण गर्छ ? जहाँ सत्यभन्दा सनसनीपूर्ण शीर्षक शक्तिशाली हुन्छ ? जहाँ एउटा झुटो पोस्टले वर्षौंको विश्वास भत्काउन सक्छ ? जहाँ बच्चा आमाबुबासँग कुरा गर्नुभन्दा स्क्रिनसँग कुरा गर्न सहज मान्छ ? जहाँ एउटै टेबलमा बसेका परिवारका सदस्यहरू एकअर्काभन्दा मोबाइलसँग बढी नजिक हुन्छन् ?
कि यस्तो समाज जहाँ प्रविधि हाम्रो सेवक हुन्छ, मालिक होइन । सामाजिक सञ्जाललाई रोक्न सकिँदैन । प्रविधिको विकासलाई उल्ट्याउन पनि सकिँदैन । तर, हामीले आफ्नो विवेकलाई प्रविधिभन्दा अगाडि राख्न सक्छौँ ।
हामीले हरेक समाचारलाई विश्वास गर्नुअघि प्रश्न गर्न सक्छौँ । हरेक भिडियो सेयर गर्नुअघि एकपटक सोच्न सक्छौँ । हरेक कमेन्ट लेख्नुअघि अर्को मानिसको भावना सम्झिन सक्छौँ । र, सबैभन्दा महŒवपूर्ण कुरा, मोबाइलको स्क्रिनबाट केही समय बाहिर निस्केर आफ्नै वरिपरि रहेका मानिसलाई हेर्न सक्छौँ । सायद त्यहीँ हाम्रो वास्तविक संसार अझै बाँचेको छ ।
आमाको कुरामा, बाबुको चिन्तामा, छोराछोरीको हाँसोमा, साथीको साथमा, छिमेकीको आत्मीयतामा र परिवारसँग बसेर गरिएको एउटा सामान्य कुराकानीमा । हामीले संसारलाई मोबाइलभित्र खोजिरहँदा कतै आफ्नै संसार मोबाइलको बाहिर छुटिरहेको त छैन ? आज यो प्रश्न प्रत्येक घरले, प्रत्येक अभिभावकले, प्रत्येक युवाले र प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफैँलाई सोध्नुपर्ने बेला आएको छ । किनकि सामाजिक सञ्जाल हाम्रो जीवनको एउटा हिस्सा हुनुपर्छ, हाम्रो सम्पूर्ण जीवन होइन ।


