काठमाडौं : रसुवामा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले नयाँ विकल्पबाट समेत प्रयास थालेको छ ।
गृहमन्त्री सुधन गुरुङका अनुसार सुरुङको माथिल्लो भागबाट ड्रिल गरेर फसेका व्यक्तिसम्म पुग्न सकिन्छ कि भनेर सम्भाव्यता खोजी भइरहेको छ। उद्धारका लागि सुरक्षा संयन्त्र अझै घटनास्थलमा सक्रिय रहेको उनले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् ।
फसेका व्यक्तिहरू जीवितै रहेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले उद्धारको आशा नछाडेको गृहमन्त्री गुरुङले स्पष्ट पारे । सुरुङभित्र उपलब्ध पानीको सहारामा उनीहरू बसिरहेका हुन सक्ने अनुमानसमेत गरिएको छ।
उनले उद्धारका लागि सम्भव सबै उपाय अपनाइरहेको र माथिबाट समेत प्रवेश गर्ने विकल्पमा काम भइरहेको जानकारी दिए ।


