नेपाल न्युज प्वाइन्ट डटकम
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौं-बाइरोड-नौबिसे-पालुङ-भैँसे तथा फर्पिङ-कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा-छहरे-नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उनले बताए ।

वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update