नेपाल न्युज प्वाइन्ट डटकम
तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : तिब्बत क्षेत्रमा पुनः पानीको ड्याम फुटेको सूचना आएपछि नेपालका सुरक्षा निकायले तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

शुक्रबार चिनियाँ पक्षबाट तिब्बततर्फ पानी जमेको ताल पुनः फुटेको जानकारी प्राप्त भएसँगै नेपाल प्रहरीले नदी किनार आसपासका नागरिक, उद्धारकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित स्थानतर्फ सर्न तथा जोखिमबारे जानकारी फैलाउन अनुरोध गरेको हो ।

प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा खटिएका सबै निकायलाई सजग रहन निर्देशन दिइएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले हेलिकप्टरमार्फत घटनास्थलको अवस्थाबारे हवाई निगरानी गरिएको जानकारी दिए ।

यसअघि बुधबार तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्ला प्रभावित भएका थिए । ती क्षेत्रमा अहिले पनि उद्धार तथा राहत कार्य जारी छ । तीन दिनअघि आएको बाढीपछि पानी पूर्ण रूपमा नघटेकै अवस्थामा पुनः पानी जम्न थालेको र थप जोखिम हुन सक्ने सूचना चिनियाँ पक्षले दिएको थियो ।

चीनतर्फ छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण ठूलो ताल बनेको र सोही ताल फुटेको बताइएको छ ।

बिहीबारसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र आगामी केही दिनमा थप ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान गरिएको थियो । जोखिम उच्च भएपछि चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update