काठमाडौं : रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीका विषयमा सरकारले संसद्मा जानकारी गराएको छ । प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले बाढीको अवस्था, क्षति र उद्धार प्रयासबारे विस्तृत जानकारी दिएका हुन् ।
यसअघि गृहमन्त्री सुधन गुरुङले जानकारी गराउने तयारी भए पनि व्यस्तताका कारण परराष्ट्रमन्त्री खनालले नै संसद्मा ब्रिफिङ गरेका हुन् । उनका अनुसार आज बिहान करिब ८ बजेर ४० मिनेटतिर भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको हो, जसले रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक क्षति पुर्याएको छ ।
मन्त्री खनालले प्रारम्भिक सूचनाअनुसार बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा गएको भूकम्पपछि हिमपहिरो झरेको र त्यसकै कारण नदीमा आकस्मिक बाढी आएको हुन सक्ने बताए । यद्यपि, उक्त विवरणको औपचारिक पुष्टि हुन बाँकी रहेको उनले स्पष्ट पारे ।
बाढीबाट भएको मानवीय क्षतिबारे जानकारी दिँदै मन्त्री खनालले हालसम्म ९ जनाको शव फेला परेको बताए । ती शवहरूको सनाखत भने हुन नसकेको र पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाइएको छ । साथै, मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत बसेर आवश्यक निर्णयहरू गरिएको मन्त्री खनालले संसद्लाई अवगत गराए ।
प्रधानमन्त्री शाहले सबै सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय तहलाई उद्धार, खोज तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् । साथै, उनले नागरिकहरूलाई पनि आ–आफ्नो स्थानबाट प्रभावित क्षेत्रमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ भने क्षतिको यथार्थ विवरण संकलन गर्ने काम जारी रहेको सरकारको भनाइ छ ।


