काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
रसुवामा आएको ठुलो बाढीका कारण रसुवामा प्रहरी चौकी, भन्सार कार्यालय र हेल्प पोस्टमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनकाअनुसार बाढी बुधबार बिहान करिब ८ः४० बजे नेपाल प्रवेश गरेको थियो । बाढी रसुवा, नुवाकोट हुदैँ धादिङको गल्छीसम्म पुगेको तर क्षतिको विस्तृत विवरण भने आइनसकेको उनको भनाइ छ ।
बाढीका कारण नेपाल टेलिकम र एनसेलका टावरमा क्षति पुगेका कारण सूचना प्रणालीमा समस्या आएको छ । दुवै दूरसञ्चार कम्पनीसँग समन्वय गरी सेवा पुनः सञ्चालन तथा टावर मर्मतको काम भइरहेको उनले जानकारी दिइन् । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका तीनवटा हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिइन् ।
स्वास्थ्यकर्मीसहितको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको प्राधिकरणले जनाएको छ । केही व्यक्तिलाई उद्धार गर्नुपर्ने जानकारी आएपछि तत्काल हेलिकप्टर पठाइएको र तीन जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको महतले जानकारी दिइन् ।
बाढी हिमनदी पग्लिएर आएको हुनसक्ने देखिएको प्रारम्भिक अनुमान प्राधिकरणले गरेको छ । प्रवक्ता महतका अनुसार हिउँपहिरोका कारण नदी थुनिएको र केही समयअघि उक्त अवरोध खुलेपछि एक्कासि ठुलो बाढी आएको प्रारम्भिक निष्कर्ष छ । यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको उनले बताइन् ।


