काठमाडौं : काठमाडौंको बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि हातपात भएको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार जथाभावी सडक पार गर्न खोजेका एक व्यक्तिलाई आकाशे पुल प्रयोग गर्न अनुरोध गर्ने क्रममा ती व्यक्तिले महिला प्रहरीमाथि दुर्व्यवहार गर्दै हातपात गरेका थिए । घटनालगत्तै प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डिउटीमा खटिएकी प्रहरीलाई अवज्ञा गर्दै हातपात गर्ने कठायतलाई तत्कालै पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले सर्वसाधारणलाई सडक सुरक्षासम्बन्धी नियम पालना गर्न तथा ट्राफिक व्यवस्थापनमा सहयोग गर्न समेत आग्रह गरेको छ ।


