नेपाल न्युज प्वाइन्ट डटकम
उपायको व्यवसायमा आक्रामक विस्तार : एक वर्षमै कारोबार ५४ प्रतिशतले बढ्यो

काठमाडौं : नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। ई-कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाप्रतिको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकासले गति लिएको छ।

सन् २०२० मा स्थापना भएको लजिस्टिक्स सेवा प्रदायक कम्पनी ‘उपाय’ ले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तार र वित्तीय प्रगतिले यस क्षेत्रमा नयाँ आयाम थपेको छ। चालु आर्थिक वर्षमा कम्पनीले आफ्नो कारोबार रकममा ५४ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको जनाएको छ।

कम्पनीका अनुसार पछिल्लो एक वर्षको अवधिमा कर्मचारी संख्या, शाखा विस्तार, वितरण सञ्जाल र दैनिक पार्सल डेलिभरी क्षमतामा ठूलो प्रगति भएको छ। गत आर्थिक वर्षसम्म करिब ३८० जना कर्मचारी रहेको उपायमा हाल प्रत्यक्ष रूपमा १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

प्रत्यक्ष रोजगारीका साथै डेलिभरी पार्टनर, ट्रान्सपोर्ट साझेदार तथा अन्य स्थानीय सेवा प्रदायकमार्फत थप ५,००० भन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको कम्पनीको भनाइ छ।

यसैगरी, पहिले ४० ओटा शाखामा सीमित रहेको कम्पनीले हाल देशभर ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्रमार्फत नेपालका सबै जिल्ला र ५,००० भन्दा बढी वितरण स्थलमा सेवा पुर्‍याइरहेको छ। यसका साथै, दैनिक १,००० पार्सल वितरण गर्दै आएको उपायले हाल दैनिक औसत १५,००० पार्सल डेलिभरी गरिरहेको छ।

व्यावसायिक दायरा फराकिलो बनाउने क्रममा उपायले काभ्रेको साँगास्थित १८ रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक ३पीएल वेयरहाउस निर्माण कार्यलाई तीव्र पारेको छ। करिब ४५,००० वर्गफुट क्षेत्रफलमा बनिरहेको उक्त वेयरहाउसको कुल भण्डारण क्षमता १,२४०,००० वर्गफुटभन्दा अधिक रहने र आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हाल काठमाडौंको पेप्सीकोलास्थित १८,००० वर्गफुटको वेयरहाउसबाट सेवा दिइरहेको कम्पनीले साँगाको नयाँ पूर्वाधार सञ्चालनमा आएपछि भण्डारण, इन्भेन्ट्री व्यवस्थापन, पिक एन्ड प्याक तथा देशभर वितरण जस्ता एकीकृत सेवाहरू एउटै छानामुनिबाट उपलब्ध गराउनेछ।

कम्पनीले तत्कालको आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई ध्यानमा राखेर पूर्वाधार र जनशक्तिमा लगानी गरिरहेको बताएको छ। उपायका फुलफिलमेन्ट डिभिजनका प्रेसिडेन्ट संगम पौडेलका अनुसार, परिवर्तन हुँदै गएको नेपाली बजारलाई आधुनिक र प्रविधिमैत्री लजिस्टिक्स समाधान दिन यो ३पीएल वेयरहाउसले महत्वपूर्ण भूमिका खेल्नेछ।

यस्तै, मानव संसाधन विभागका एभीपी राजु केसीले दक्ष जनशक्ति निर्माण, सुरक्षित कार्य वातावरण र कर्मचारी कल्याणलाई प्राथमिकता दिँदै दीर्घकालीन रोजगारीको उत्कृष्ट वातावरण तयार पारिएको उल्लेख गरे। आगामी दिनमा उपायले देशभर नेटवर्क विस्तार, एआईमा आधारित प्रविधि र आधुनिक पूर्वाधारमा थप लगानी गर्दै सम्पूर्ण सप्लाइ चेनलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update