नेपाल न्युज प्वाइन्ट डटकम
असार अन्त्यसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार असारको अन्तिम सातासम्म कुल रोपाइँयोग्य क्षेत्रफलमध्ये ५४.५२ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ ।

विभागको तथ्यांक अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान रहेकामा हालसम्म ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ५९.२८ प्रतिशत रोपाइँ सम्पन्न भएकाले यस वर्षको प्रगति तुलनात्मक रूपमा केही कम रहेको देखिएको छ ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको छ।

सुदूरपश्चिममा १ लाख ५४ हजार ९ सय ५० हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये १ लाख ३६ हजार ३२ हेक्टर अर्थात् ८७.८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । यद्यपि, गत वर्ष यही अवधिमा त्यहाँ ९३.१० प्रतिशत रोपाइँ भइसकेको थियो ।

मधेश प्रदेशमा भने हालैको निरन्तर वर्षापछि रोपाइँले गति लिन थालेको विभागले जनाएको छ । कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये १ लाख २६ हजार ४ सय ३९ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन ३२.८ प्रतिशत हो । गत वर्ष यही अवधिमा मधेशमा ३३.७८ प्रतिशत रोपाइँ भएको थियो ।

यस वर्ष प्रदेशगत रूपमा गत वर्षको तुलनामा सुधार देखिएको एक मात्र प्रदेश कोशी हो। कोशीमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये १ लाख ५१ हजार ६ सय १९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भई प्रगति ५४.९ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा त्यहाँ ४१.३२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ६१ हजार ७ सय २७ हेक्टर अर्थात् ६५.९ प्रतिशत क्षेत्रमा धान रोपिएको छ । गत वर्ष सोही अवधिमा यो दर ७१.०३ प्रतिशत थियो ।

कर्णाली प्रदेशमा ४३ हजार २ सय ९० हेक्टरमध्ये २६ हजार ६७ हेक्टरमा रोपाइँ सम्पन्न भई प्रगति ६०.२ प्रतिशत पुगेको छ । गत वर्ष कर्णालीमा यही अवधिसम्म ८३.२३ प्रतिशत रोपाइँ भइसकेको थियो ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये १ लाख ७९ हजार ६ सय ३१ हेक्टर अर्थात् ५९.६ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ६५ हजार ४ सय ४६ हेक्टरमा धान रोपिएको छ, जुन ५७.१ प्रतिशत हो ।

गत वर्ष यही अवधिमा लुम्बिनीमा ७३.६८ प्रतिशत र बागमतीमा ७६.३१ प्रतिशत रोपाइँ सम्पन्न भएकाले यी दुवै प्रदेशमा पनि यस वर्ष रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको कृषि विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update