नेपाल न्युज प्वाइन्ट डटकम
भारतीय अवरोध हटेपछि चियाको निर्यात पुनः सुरु

काठमाडौं : झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएसँगै चिया उद्योग र किसानमा राहतको आशा पलाएको छ । 

निकासी अवरोध हटेसँगै उद्योगमा थन्किएको चिया भारतीय बजारतर्फ जान थालेको छ भने नयाँ अर्डरसमेत आउन थालेका छन् ।

भारतले गुणस्तर परीक्षणसम्बन्धी व्यवस्था परिमार्जन गर्दै सबै खेपको अनिवार्य परीक्षण हटाएर जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाका हुँदै नेपाली चियाको निकासी पुनः सुरु भएको हो । नयाँ व्यवस्थाअनुसार अब नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्रै नमुना परीक्षण गरिनेछ ।

निकासी अवरुद्ध हुँदा इलामका उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । यसले उद्योगी र किसान दुवैलाई आर्थिक रूपमा ठूलो असर परेको थियो । अहिले निकासी सहज भएसँगै थन्किएको चिया बजारमा पठाउने तयारी तीव्र बनेको छ ।

नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू भारत प्रवेश गर्न थालेका छन् । व्यवसायीहरूले भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको र व्यापार विस्तार हुने संकेत देखिएको बताएका छन् ।

चिया निकासी सहज बनाउन नेपाल सरकारले कूटनीतिक पहललाई तीव्र बनाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा सम्बन्धित मन्त्रालय र निकाय सम्मिलित कार्यदल गठन गरी भारतीय पक्षसँग निरन्तर समन्वय गरिएको थियो । त्यसपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणाली खुकुलो बनाउने निर्णय गरेको हो ।

यद्यपि व्यवसायीहरू पूर्ण रूपमा ढुक्क भने भएका छैनन्। पानीट्यांकी भन्सारमा परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै कोलकाता पठाउनुपर्ने अवस्था कायमै छ । साथै भारतीय पक्षले आवश्यकता अनुसार छड्के परीक्षण गर्न सक्ने व्यवस्था पनि यथावत् रहेको छ ।

व्यवसायीहरूको भनाइमा तत्कालका लागि निकासीको बाटो खुले पनि यसको दीर्घकालीन स्थायित्व भारतीय पक्षको व्यवहार र दुई देशबीचको समन्वयमा निर्भर रहनेछ। अहिले भने निकासी पुनः सुरु भएसँगै उद्योग, किसान र निर्यातकर्तामा केही राहत र आशा फर्किएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update