नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु

काठमाडौं : प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने  र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने व्यहोरा जानकारी गराए । उनले छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको जानकारी दिए । 

सांसदहरूले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिइरहेका छन् । बैठकमा अर्थमन्त्री वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । 

बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सुनाएका थिए । 

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन तथा सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गरेको व्यहोरा सभालाई जानकारी गराएका थिए । सो हेरफेरलाई सभाले सहमति जनाएको थियो ।

बैठकमा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानः तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराए ।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update