काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताएकी छन् । आफ्नो नेतृत्वमा रहेको ६ महिनाको अन्तरिम सरकारले सबै माग सम्बोधन गर्न नसके पनि आवश्यक आधार तयार गरिएको उनले स्पष्ट पारिन् ।
बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले छोटो कार्यकालका कारण सबै अपेक्षा पूरा गर्न नसकिएको स्वीकार गरिन् । “हामीले सबै काम गर्न सकेनौँ, तर केही महत्त्वपूर्ण आधारशिला तयार गरेका छौँ,” उनले भनिन् । भ्रष्टाचार र जटिल अपराध अनुसन्धान गर्ने निकायलाई स्वतन्त्र रूपमा काम गर्न वातावरण बनाइएको उल्लेख गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो ले लामो समयदेखि रोकिएका प्रकरण अघि बढाएको दाबी गरिन् ।
प्रधानमन्त्रीले ठेक्का लिएर काम नगर्ने, विद्युत् महसुल नतिर्ने लगायतका बेथितिविरुद्ध सरकारले कडा कदम चालेको पनि उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि सरकार र आन्दोलनकारीबीच २०८२ मंसिर २४ गते भएको सम्झौताका केही काम बाँकी रहेको बताउँदै ती विषय नयाँ सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, तोडफोड र क्षतिबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ । आगामी सरकारले त्यसका सिफारिस कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तुष्टि व्यक्त गरिन् । उनले संकटपूर्ण अवस्थाबीच पनि स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन् ।
निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायको योगदान सराहनीय रहेको उनले उल्लेख गरिन् ।
सरकारले आन्दोलनबाट प्रभावित उद्योग, व्यवसाय र संरचनाको पुनरुत्थानका लागि राहत, कर छुट तथा सहुलियतका कार्यक्रम लागू गरेको पनि उनले जानकारी दिइन् । क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले नयाँ जनादेशसहित बन्ने सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक विकासमा ठोस प्रगति हुने विश्वास व्यक्त गरिन् ।
कार्यकाल समाप्तिको सन्दर्भमा उनले आफ्नो सरकारको कामको मूल्यांकन जनतामाथि छाड्दै पारदर्शिता र इमान्दारिताका साथ काम गरेको दाबी गरिन् । साथै, सबै निकायले संवैधानिक मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै उनले नयाँ सरकारलाई स्वागत गर्न आफू तयार रहेको बताइन् ।



