नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको १५औं महाधिवेशन भदौ २४-२६ मा गर्ने प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव अघि सारेको छ । पार्टी सभापति गगन थापाले केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उक्त कार्यतालिका प्रस्तुत गरेका हुन् ।

प्रस्तावअनुसार महाधिवेशनको तयारी प्रक्रिया चैत महिनाबाटै सुरु गरिनेछ । क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकका लागि चैत २१ गतेदेखि मसान्तसम्म विशेष अभियान सञ्चालन गरिनेछ भने वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वडाबाट सदस्यता नवीकरण र वितरण गर्ने योजना छ ।

कांग्रेसले जेठ मसान्तभित्र सदस्यता विवरण केन्द्रमा पठाइसक्ने र असार १५ गतेसम्म केन्द्रले आवश्यक छानबिन सम्पन्न गर्ने तयारी गरेको छ। त्यसपछि अद्यावधिक सदस्यता विवरण निर्वाचन समितिलाई बुझाइनेछ ।

सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको विस्तृत कार्यतालिका प्रस्तुत गर्दै चैतबाट सुरु हुने प्रक्रिया भदौ अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

यसअघि कांग्रेसले गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरेको थियो । विधानअनुसार विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रावधान छ । पार्टीको १४औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो ।

प्रस्तावित कार्यतालिका :

वैशाख १-मसान्त : क्रियाशील सदस्यता नवीकरण तथा वितरण
असार १५: सदस्यता छानबिन सम्पन्न
असार मसान्त : सदस्यता विवरण निर्वाचन समितिलाई हस्तान्तरण
साउन ६: वडा अधिवेशन
साउन १२: गाउँ/नगरपालिका अधिवेशन
साउन २३: प्रदेशसभा क्षेत्र अधिवेशन
साउन ३०: प्रतिनिधिसभा क्षेत्र अधिवेशन
भदौ ६–७: जिल्ला अधिवेशन
भदौ १५–१६: प्रदेश अधिवेशन
भदौ २४–२६: केन्द्रीय महाधिवेशन

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update