काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको हारबारे औपचारिक समीक्षा प्रक्रिया अघि बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै पराजयका प्रमुख कारणहरू सार्वजनिक गरेका हुन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी जम्मा ३८ सिट मात्रै जितेको थियो । उक्त नतिजापछि पार्टीले आत्मसमीक्षा थालेको हो ।
शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्रको चर्को गुटबन्दी र मतदातामा बढ्दो वितृष्णालाई पराजयको मुख्य कारणका रूपमा औंल्याइएको छ । लोकतान्त्रिक अभ्यासमा फरक मतलाई सम्मान गर्नुपर्ने भए पनि व्यवहारमा भने पार्टीले जायज प्रश्नहरूलाई बेवास्ता गरेको र विचारभन्दा व्यक्तिलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ ।
उनका अनुसार गुटीय स्वार्थका कारण इमान्दार कार्यकर्ताहरू निराश बनेका थिए भने नागरिक तहमा पनि यस्ता प्रवृत्तिप्रति असन्तोष बढ्दै गएको थियो ।
प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयलाई स्वीकार्दै कांग्रेसको हारलाई अझ ठुलो यथार्थका रूपमा प्रस्तुत गरिएको छ । समयमै आफूलाई सुधार्न र मतदातासमक्ष प्रभावकारी ढंगले प्रस्तुत हुन नसक्दा यस्तो परिणाम आएको निष्कर्ष निकालिएको छ ।
सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनु सकारात्मक कदम भए पनि पराजयको सम्पूर्ण जिम्मा कुनै एक व्यक्ति वा नेतृत्वमा मात्र नथोपर्न आग्रह गरिएको छ ।
निर्वाचन परिणामलाई अचानक घटना नभई लामो समयदेखि जम्दै आएको जनअसन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गरिएको छ । अघिल्ला स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान र धनगढी मा स्वतन्त्र उम्मेदवारको सफलता त्यसको संकेत भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, २०७९ मा रास्वपाको उदय र ‘जेन–जी’ पुस्ताबाट देखिएको विद्रोही प्रवृत्तिलाई पनि पुराना दलप्रति बढ्दो असन्तोषका श्रृंखलाबद्ध संकेतका रूपमा व्याख्या गरिएको छ ।



