नेपाल न्युज प्वाइन्ट डटकम
मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाईको प्रत्युत्तर दिँदै नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना पोस्टमा कमेन्ट गर्दै बालेनले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका हुन् ।

मोदीले सोमबार साँझ सामाजिक सञ्जालमार्फत रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका थिए । साथै उनले बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसको प्रत्युत्तरमा बालेनले लेखेका छन्, ‘शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’

उनले भारतले लगातार दुई पटक टी-२० विश्वकप उपाधि जितेकोमा भारत सरकार तथा भारतीय जनतालाई बधाई पनि दिएका छन् ।

मोदीले यसअघि टेलिफोन संवादमार्फत पनि लामिछाने र शाहलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update