नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदान सुरु

काठमाडौं : जेन–जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।

निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदै छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् ।

प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update