नेपाल न्युज प्वाइन्ट डटकम
निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

निर्वाचनको पूर्वसन्ध्यामा (बुधबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पुगिसकेको जानकारी दिएका हुन् ।

उनले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पारे । भण्डारीकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । यसका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पुर्‍याइसकिएको छ ।

मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैंगिक तथा अपांगमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको बताए । मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रवन्ध मिलाइएको आयोगले जनाएको छ ।

भण्डारीले निर्वाचनलाई केवल प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्राविधिक प्रक्रियाका रूपमा मात्र नबुझ्न आग्रह गरे ।

निर्वाचनमार्फत नागरिकले कानून निर्माण र राज्य सञ्चालनको प्रक्रियामा प्रत्यक्ष रूपमा आफूलाई संलग्न गराउने अवसर पाउने कुरामा उनले बताए ।

यस प्रक्रियाको पूर्णताले नीति, नेतृत्व र शासनको अभिव्यक्ति हुनुका साथै समावेशी तथा उत्तरदायी राज्य निर्माणमा नागरिकको प्रत्यक्ष योगदान पुग्ने भन्दै आयोगले सम्पूर्ण मतदाताहरूलाई यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गरेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update