काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातासमक्ष आग्रह गरेकी छन् ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले मुलुक फेरि इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै आगामी निर्वाचनलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ अघि बढ्ने निर्णायक अवसरका रूपमा व्याख्या गरिन् ।
प्रधानमन्त्री कार्कीले मतदानलाई केवल चुनावी प्रक्रिया नभई नागरिकले आफ्नो र सन्तानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णय भएको बताइन् ।
‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाएर कसैलाई जिताउनु मात्र होइन, यो त आफ्नो र आफ्नो देशको भविष्य कस्तो बनाउने भन्ने निर्णय हो,’ उनले भनिन् ।
फागुन २१ गते अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न आग्रह गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन सबैको भूमिका आवश्यक रहेको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको जटिल र संवेदनशील परिस्थितिबाट मुलुकलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सरकार सफल भएको दाबी गरिन् ।
त्यो समय सडकमा युवाको आक्रोश, असुरक्षा र अन्योल देखिएको उल्लेख गर्दै उनले कठिन संक्रमण व्यवस्थापन गर्दै विधिको शासन स्थापित गर्न सफल भएको बताइन् ।
‘विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौं । यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम हो,’ उनले भनिन् ।
निर्वाचन प्रतिस्पर्धा स्वस्थ, सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले राजनीतिक दल, स्वतन्त्र उम्मेदवार र समर्थकहरूलाई संयमित ढंगले प्रचारप्रसार गर्न आग्रह गरिन् ।
मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न पनि उनले अपिल गरिन् । निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीहरूको निष्पक्षता र मेहनतप्रति धन्यवाद व्यक्त गर्दै सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जानकारी दिइन् ।
सरकारका चारवटै सुरक्षा संयन्त्र परिचालन गरिएको उल्लेख गर्दै उनले निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याइन् ।
सामाजिक सञ्जालमार्फत तथ्यहीन तथा भ्रामक सामग्री फैलाएर निर्वाचन वातावरण धमिल्याउन खोज्ने तत्वप्रति सचेत रहन प्रधानमन्त्रीले सबैलाई आग्रह गरिन् ।
त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै दण्डहीनतालाई प्रश्रय नदिने सरकारको अडान पुनः दोहोर्याइन् ।
प्रधानमन्त्री कार्कीले केही दिनमै देशको बागडोर जनप्रतिनिधिको हातमा पुग्ने उल्लेख गर्दै आफूले न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको बताइन् ।
‘अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ,’ उनले भनिन् ।
सम्बोधनको अन्त्यमा उनले फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन सबैसँग अपिल गरिन् ।



