काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले आगामी ५ वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको जिकिर गरेका हुन् ।
सभापति थापाले विगत केही समययता सबै दलहरू सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताए ।
उनले भने, ‘अबको पाँच वर्षको अवधि सरकार बनाउने र टिकाउनेमा जाने होइन । अबको अवधि परिणाम दिने ठाउँमा जानु पर्दछ । त्यसैले नेपाली काँग्रेस पार्टीको तर्फबाट हामी एउटा प्रतिज्ञा लिएर उभिएका छौं– हामी यो ५ वर्षको प्रत्येक दिनको प्रत्येक क्षण नेपालको सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौ एक क्षण पनि खेर नफाली । त्यसका निम्ति एउटा सोचका साथमा, संकल्पका साथमा र योजनाका साथमा हामी आएका छौं ।‘
सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।



