काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन् ।
शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता शाहले यस्तो टिप्पणी गरेका हुन् । उनले दक्ष जनशक्ति, खानी र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै नेपाली कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गरे ।
उनले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टी चिह्नमा मतदान गर्न आग्रह गरे ।
उनले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेनपावर पनि छ, खानी पनि छ । तर बन्द । अब चल्नुपर्यो । नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्यो अब त्यो पनि । पूरै देशभरी चल्नुपर्यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौं हामी ।’
उनले पार्टी सभापति नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनवासीलाई आग्रह गरे ।



