बुटवल : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा मात्रै सीमित नबसी घर–घर पुगेर मत माग्न निर्देशन दिएका छन् ।
रूपन्देहीको बुटवलमा शुक्रबार आयोजित प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिन आग्रह गरे । “सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस्, तर त्यहीँ अल्झिएर नबस्नुस् । गोडा चलाउनुस्, घर–घर पुग्नुस्,” उनले भने ।
थापाले उम्मेदवार एक्लैले चुनाव जित्न नसक्ने भन्दै सबै नेता–कार्यकर्ताले आफूलाई उम्मेदवार मानेर मत माग्नुपर्नेमा जोड दिए ।
“यहाँको उम्मेदवारले मेहनत गरिरहनुभएको छ, तर उहाँ एक्लैले पुग्दैन । तपाईंहरू प्रत्येक उम्मेदवार बनिदिनुपर्छ,” उनले भने, “हरेक घरमा गएर भनिदिनुस्– म गगन थापा भएर तपाईंको घरमा मत माग्न आएको छु । पाँच वर्ष मौका दिनुस्, निराश बनाउँदैनौं ।”
उनका अनुसार सुरुमा मतदाता, विशेषगरी युवाहरूले असन्तुष्टि जनाउन सक्छन् । “पहिला दुई लाइन गाली गर्लान्, त्यसपछि संवाद गर्नुस् । रिसाएका युवालाई सम्झाउनुस्,” उनले कार्यकर्तालाई सुझाए ।
थापाले विगतमा कांग्रेसलाई मत दिएका मतदाताले यसपटक पनि रुख चिह्नमा मतदान गर्न नपर्ने कुनै कारण नभएको जिकिर गरे । युवाको भावनाअनुसार कांग्रेस परिवर्तनको संकल्पसहित अघि बढेको उनको दाबी थियो ।
“आजको दिनमा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण छैन,” उनले भने, “उत्तेजनाको राजनीतिमा नबहकिनुस्, भ्रममा नपरौं ।”
थापाले ‘नयाँ’को नारामा मात्रै बहकिँदा ०६४ सालको अवस्था दोहोरिन सक्ने चेतावनी दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘नयाँ नेपाल’को नारा दिएर ठूलो शक्ति बने पनि पाँच वर्ष देश अलमलमा परेको उनले टिप्पणी गरे ।
“समस्या चिच्याएर होइन, समाधान गरेर देश बनाइन्छ,” उनले भने, “भौतिक पूर्वाधारको गति बढाउन ४१ वटा कानुन संशोधन गर्नुपर्छ । व्यक्तिलाई थुनेर विकास हुँदैन, सिस्टम सुधार्नुपर्छ ।”
थापाले विश्वभर रहेका नेपालीलाई समेत सहयोगका लागि आह्वान गरे । “संसारभर छरिएका नेपालीको साथ चाहिएको छ । हामी माटोमा खुट्टा जमाएर देशमा केही गर्ने संकल्पसहित उभिएका छौं,” उनले भने ।
बुटवलमा आयोजित उक्त सभामा कांग्रेसका शीर्ष नेताहरू तथा रूपन्देहीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।



