झापा : बालेन्द्र शाहले झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा आफ्नो विस्तृत चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । संविधानको परिपालना, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धतासहित उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, भूमि व्यवस्थापन र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्दै पाँच वर्षे कार्ययोजना अघि सारेका हुन् ।
शाहले संघीय संसदमा झापा–५ का मुद्दा सशक्त रूपमा उठाउने, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय बढाउने र विकास योजनाको प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन् । “राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु र मतमार्फत अभिव्यक्त जनविश्वासलाई काममा रूपान्तरण गर्नेछु,” वाचापत्रमा उल्लेख छ ।
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानलाई उनले उच्च प्राथमिकतामा राखेका छन् । रास्वपा सरकार गठन भएको १०० दिनभित्र अधिकार सम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र दिगो समाधान कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरिएको छ ।
बाँझो जमिनको सदुपयोगका लागि ‘ल्याण्ड बैंक’ स्थापना, जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धन, ऐलानी जग्गाको व्यवस्थापन र नक्सांकन अभिलेख नभएका जमिनको नापी–नक्सा अभिलेखीकरण गर्ने योजना पनि अघि सारिएको छ ।
शिक्षा क्षेत्रमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।
विद्यालय छाड्ने दर शून्यमा झार्न “स्कुल रिटेन्सन प्रोग्राम” सञ्चालन गरिने, फरक क्षमता भएका बालबालिकाका लागि विशेष शैक्षिक कार्यक्रम ल्याइने तथा पाठ्यक्रममा स्थानीय भाषा र लिपि समावेश गर्न पहल गरिने उल्लेख छ ।
दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन केन्द्र बनाउने र दमक–१० को साइन्स पार्क व्यवस्थित गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ ।
स्वास्थ्यतर्फ दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाइएको छ । विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालको कुल शैयामध्ये १० प्रतिशत शैया अनिवार्य रूपमा निःशुल्क उपलब्ध गराउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने उल्लेख छ ।
ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार, “घर–घर स्वास्थ्य सेवा कार्यक्रम” मार्फत ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क सेवा, २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने र सुरक्षित खानेपानी कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।
झापा–५ को मुख्य आधार कृषि भएको उल्लेख गर्दै उनले कन्काई–रतुवा सिँचाइ योजना विस्तार, लिफ्ट सिँचाइ प्रविधि प्रयोग र कृषियोग्य जमिनको अधिकतम उपयोग गर्ने योजना सार्वजनिक गरेका छन् ।
“एक पालिका, एक शीत भण्डार” अवधारणा कार्यान्वयन, गौरादह कृषि भण्डारण केन्द्र स्थापना, उत्पादनमा आधारित मल–बीउ–विद्युत अनुदान, कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी प्रणाली र विश्वसनीय बीमा व्यवस्था लागू गर्ने प्रतिबद्धता छ ।
युवालाई कृषि पेशामा आकर्षित गर्न प्रविधिमैत्री उत्पादन प्रणाली, ब्रान्डिङ तथा बजार विस्तार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
अधुरा योजनालाई समयसीमा तोकी सम्पन्न गर्ने, दमक–रवि–चिसापानी सडक शीघ्र सञ्चालनमा ल्याउने, हुलाकी सडक र पुलहरूको निर्माण समयमै सम्पन्न गर्ने योजना सार्वजनिक गरिएको छ ।
दमकलाई ‘स्मार्ट सिटी’ तथा पूर्वी नेपालको ‘आईटी हब’ का रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने उल्लेख छ ।
रतुवा, मावा लगायतका खोलामा तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण, ग्रामीण सडक र पुल स्तरोन्नति, सीमावर्ती क्षेत्रमा भरपर्दो मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गरिने जनाइएको छ ।
महिलाका नाममा नागरिकता लिँदा हुने झन्झटिलो प्रक्रिया सरलीकरण, महिला कृषि कर्जा कार्यक्रम, सीपमूलक तालिममार्फत एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
हिंसापीडित महिला तथा बालबालिकाका लागि ‘सेफ हाउस’ स्तरोन्नति, छात्रा स्वास्थ्य सहयोग कार्यक्रम सुदृढीकरण र सुरक्षित सहर निर्माणका लागि सुरक्षा पूर्वाधार विस्तार गर्ने योजना पनि समेटिएको छ ।
शाहले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्ने, अनलाइन गुनासो दर्ता प्रणाली लागू गर्ने र सार्वजनिक कार्यको प्रगति देखिने डिजिटल ड्यासबोर्ड सञ्चालन गर्ने बताएका छन् ।
झापा–५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय जनताको आवाज संसदमा निरन्तर प्रस्तुत गर्ने प्रतिबद्धता जनाइएको छ ।
चुरे संरक्षण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन, वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू, वन–ताल–सिमसार क्षेत्र संरक्षण तथा विपद् पूर्वतयारी कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।
स्थानीय आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, बहुसांस्कृतिक भवन निर्माण र दमक गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ ।
वाचापत्रको अन्त्यमा शाहले “जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला” भन्दै मतदातासँग अपिल गरेका छन् । झापा–५ मा विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै अघि सारिएको उनको वाचापत्रलाई स्थानीय राजनीतिमा अर्थपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।





