काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाभिमान र तीव्र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पुनः दोहोर्याउँदै एमालेले देशलाई अस्थिरता र अनिश्चितताबाट बाहिर निकाल्न बलियो जनादेश आवश्यक रहेको दाबी गरेको छ ।
घोषणापत्रमा पछिल्लो समयको सत्ता फेरबदल, गठबन्धन राजनीति र आर्थिक मन्दीलाई विकास अवरोधका रूपमा चित्रित गर्दै एमालेले आफूलाई स्थायित्वको वाहक शक्तिका रूपमा प्रस्तुत गरेको छ ।
एमालेले आगामी पाँच वर्षभित्र अर्थतन्त्रलाई १ सय खर्ब रुपैयाँको आकारमा पुर्याउने र एक दशकभित्र २ सय खर्ब रुपैयाँको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ । उत्पादनमुखी अर्थतन्त्र, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणमार्फत उच्च आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।
उद्योग क्षेत्रको अर्थतन्त्रमा योगदान २० प्रतिशत पुर्याउने, कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने, १२ महिना सिंचाइ सुविधा विस्तार गर्ने तथा खाद्य आत्मनिर्भरता सुदृढ गर्ने कार्यक्रमसमेत समेटिएको छ ।
घोषणापत्रले सडक, रेल, डिजिटल सेवा, शहरी पूर्वाधार तथा स्वच्छ ऊर्जा उत्पादनलाई विकासको मेरुदण्डका रूपमा परिभाषित गरेको छ । विगतमा सम्पन्न गरिएका सडक सञ्जाल विस्तार, पाइपलाइन, पुनर्निर्माण र डिजिटल सेवाका उपलब्धिलाई एमालेले आफ्नो सफलताको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।
ऊर्जा क्षेत्रमा स्वदेशी उत्पादन वृद्धि गर्दै आन्तरिक खपत सुनिश्चित गर्ने र विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखिएको छ । हरित ऊर्जालाई प्राथमिकतामा राख्ने प्रतिबद्धतासँगै ऊर्जा पूर्वाधार विस्तारलाई तीव्रता दिने योजना पनि घोषणापत्रमा उल्लेख छ ।
शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने, गुणस्तरीय सार्वजनिक शिक्षा सुदृढ गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता एमालेले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृद्धवृद्धा, श्रमिक र कमजोर वर्गलाई सुरक्षाको दायरा विस्तार गर्ने घोषणा गरिएको छ ।
सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने, ६० भन्दा बढी सेवा अनलाइनमार्फत उपलब्ध गराउने र पारदर्शिता अभिवृद्धि गर्ने लक्ष्य घोषणापत्रमा समावेश छ । भ्रष्टाचार नियन्त्रण, कानुनी सर्वोच्चता र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखिएको छ ।
एमालेले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र राज्य संरचनाको पुनर्निर्माणलाई पनि प्रतिबद्धताका रूपमा दोहोर्याएको छ ।
“सबैसँग मित्रता, कसैसँग शत्रुता होइन” भन्ने नीतिलाई निरन्तरता दिँदै सन्तुलित कूटनीति अपनाउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्ने दाबी एमालेले गरेको छ ।
घोषणापत्रको समग्र स्वर राष्ट्रवाद, स्थायित्व र विकासको संयोजनमा आधारित देखिन्छ । पार्टीले चुनावलाई स्थिर सरकार बनाम अस्थिरताको विकल्पका रूपमा व्याख्या गरेको छ ।



