काठमाडौं : नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभा कार्यक्रममा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले संयुक्त रूपमा प्रतिज्ञापत्र सार्वजनिक गर्दै आगामी कार्यकालका लागि कांग्रेसको नीति, दृष्टिकोण र प्राथमिकताहरू प्रस्तुत गरेका हुन् ।
कांग्रेसको प्रतिज्ञापत्र जनताको सम्मान, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, सुशासन, समावेशी विकास र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर तयार गरिएको छ । प्रतिज्ञापत्रमा “सम्मानित भएर बाँच्न पाउने नेपाल” देखि “समुन्नतिमा लम्कने नेपाल” सम्मका १० प्रमुख विषयगत प्रतिबद्धता समेटिएका छन् ।
हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ। जात, धर्म, लिङ्ग, वर्ग वा स्थानका आधारमा हुने सबै किसिमका भेदभाव अन्त्य गर्दै हिंसामुक्त, सहिष्णु र समान अवसरयुक्त समाज निर्माण गर्ने लक्ष्य राखिएको छ ।
समृद्धिको सपना देख्न सक्ने वातावरण निर्माण गर्दै युवालाई शासन र विकासका सक्रिय साझेदार बनाइने उल्लेख छ । स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई मुलुकको विकासमा जोड्ने नीति अघि सारिएको छ ।
लगानीमैत्री वातावरण तयार पार्दै उत्पादनमूलक क्षेत्रमा राज्यको साथ रहने कांग्रेसको प्रतिबद्धता छ । श्रमिकको सम्मान, सामाजिक सुरक्षा, वैध नाफाको प्रोत्साहन र अवैध सम्पत्ति नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।
कृषिलाई मर्यादित र आधुनिक पेसाका रूपमा विकास गर्दै सिँचाइ, मल, बीमा, बजार पहुँच र उचित मूल्य सुनिश्चित गरिने उल्लेख छ । कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन राज्यको सहकार्य रहने उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरिने, उन्नत स्वास्थ्य बीमा प्रणाली लागू गरिने र उपचार खर्चको डरबाट मुक्त गरिने प्रतिज्ञा गरिएको छ ।
शिक्षालाई राष्ट्रको सबैभन्दा महत्वपूर्ण लगानी मानेर सर्वसुलभ र गुणस्तरीय शिक्षा उपलब्ध गराइनेछ। बालबालिकाको पोषण, हिंसामुक्त विद्यालय, प्रविधि र नवप्रवर्तनमा आधारित शिक्षामा जोड दिइने उल्लेख छ ।
सबै नागरिक कानूनको नजरमा समान हुने, योग्यताका आधारमा नियुक्ति हुने र डिजिटल प्रणालीमार्फत भ्रष्टाचार तथा ढिलासुस्ती अन्त्य गरिने लक्ष्य लिइएको छ ।
भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण गर्दै आधुनिकतासँग तालमेल राख्ने तर आफ्नै पहिचानमा गर्व गर्ने नेपाल निर्माण गर्ने कांग्रेसको दृष्टिकोण छ ।
सार्वभौमिकता, स्वाभिमान र राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अपनाउँदै विश्व समुदायमा सम्मानित राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने लक्ष्य राखिएको छ ।
कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद र यातायातजस्ता क्षेत्रमा आधुनिक विकास गर्दै जनमुखी लोकतन्त्र र खुला तथा प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।



