नेपाल न्युज प्वाइन्ट डटकम
धनगढीबाट बालेनले भने- भोट नदिए पनि हुन्छ, काम दिनुस्

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमवासीले देखेको सपना रास्वपाले पूरा गरेरै छाड्ने दाबी गरेका छन् ।

बुधबार धनगढीमा आयोजित परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई ‘सु–नजिक’ प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य, शिक्षा, सडक पूर्वाधारलगायत आधारभूत समस्या समाधान गर्नु रास्वपाको प्रमुख एजेन्डा भएको उनले बताए ।

“दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षमा बनेन। त्यो पूरा गर्ने हाम्रो एजेन्डा हो,” उनले भने, “रास्वपा यहाँ बोल्न वा भोट माग्न आएको होइन, काम गर्न आएको हो । भोट नदिए पनि हुन्छ, काम दिनुस् ।”

बालेनले सुदूरपश्चिमका जनताले भनेका काम पूरा गर्ने पार्टी रास्वपा भएको उल्लेख गर्दै विपन्न तथा गरिब नागरिकले शिक्षा र उपचार पाउनुपर्ने अवस्था सुनिश्चित गरिने बताए ।

उनका अनुसार रास्वपा सरकारमा पुगे कांग्रेस, एमाले र माओवादीले हिँड्ने बाटोसमेत बनाइनेछ । साथै, सुदूरपश्चिममा रहेका कलाकारहरूको स्वर काठमाडौंका चोक–चोकमा घन्किनुपर्ने भन्दै उनले स्थानीय प्रतिभाको प्रवर्धनमा जोड दिए ।

“तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ,” उनले भने, “हाम्रा उम्मेदवारलाई कामको सूची दिनुस्, रास्वपाले काम गरेर देखाउँछ ।”

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update