नेपाल न्युज प्वाइन्ट डटकम
‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्राचार

काठमाडौं : निर्वाचन आयोग, नेपालले अनलाइन सञ्चारमाध्यम ‘सेतोपाटी’मा प्रकाशित केही समाचार निर्वाचन आचारसंहिता विपरीत देखिएको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

आयोगका अनुसार सेतोपाटीमा चितवन–३ सम्बन्धी ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेनु दाहाल दोस्रो’ तथा ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा प्रकाशित सामग्रीप्रति आयोगको ध्यानाकर्षण भएको हो।

पत्रमा उल्लेख भएअनुसार ती समाचार निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) तथा दफा २५ को उपदफा (१) को खण्ड (ख) सँग प्रतिकूल देखिएका छन्। दफा ४ को खण्ड (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामसम्बन्धी मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ।

त्यसैगरी, दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

उक्त प्रावधान विपरीत गतिविधि भएको देखिएकाले आयोगको निर्णयअनुसार सेतोपाटी अनलाइनमाथि आवश्यक कारबाही गर्न प्रेस काउन्सिल नेपालसमक्ष अनुरोध गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update