नेपाल न्युज प्वाइन्ट डटकम
चितवन–३ मा जनसमर्थनले उत्साहित छु : रेनु दाहाल

चितवन : चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले घरदैलो अभियानका क्रममा आम नागरिकबाट प्राप्त माया, विश्वास र समर्थनले आफू उत्साहित भएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै दाहालले भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयरको जिम्मेवारी सम्हाल्दा गरेको कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज जनताको स्नेह प्राप्त भएको उल्लेख गरेकी छन्।

उनले निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि जित–हार दुवैलाई सहर्ष स्वीकार गर्ने स्पष्ट पार्दै मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी हुने मनोबलसमेत व्यक्त गरेकी छन्।

यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरीत नतिजा सार्वजनिक गरेकोप्रति दाहालले आपत्ति जनाएकी छन्। यस्ता भ्रामक र कपोलकल्पित समाचारले समग्र निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने भन्दै यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेकी छन्।

दाहालले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन्।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update