नेपाल न्युज प्वाइन्ट डटकम
उज्यालो नेपाल पार्टीको चुनावी घोषणापत्र : प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने

काठमाडौं : उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा प्रतिनिधिसभा सदस्य संख्या घटाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने उल्लेख गरिएको हो । राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताए ।

त्यसैगरी प्रदेश सभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । त्यसैगरी प्रदेश सरकारको स्थायित्वको लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिने घोषणापत्रमा समावेश गरिएको छ ।

संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढीमा ७ सदस्यीय हुने पनि घोषणापत्रमा समावेश गरिएको छ । राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि आफूहरुले प्रतिबद्धता पत्रमा समावेश गरेको अध्यक्ष घिसिङले बताए ।

उनले भने, ’खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेश सभा ५५० बाट ३३० मा कटौती गर्ने । संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सीमित गर्ने । र, राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था गरिने छ । प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा समेत समेटिएको छ । साथै सरकार गठनपछि हरेक वर्ष प्रतिवद्धता कार्यान्वयनका प्रगति रिर्पोट सार्वजनिक गरिने प्रतिबद्धता गरिएको छ ।‘

घोषणापत्रमा अर्थतन्त्रको सुदृढीकरण र रोजगारीको अवसर सिर्जना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update