काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय संकट सामना गर्न तयार रहेको उद्घोष गरेका हुन् ।
प्रचण्डले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गरे । उनले विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए ।
यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उनको टिप्पणी छ । उनले गणतन्त्र, संघीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले जेनजी आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औंल्याए । सोही आवश्यकता पूर्ति गर्न वामपन्थी, समाजवादी र देशभक्तहरूलाई एकताबद्ध गर्दै २६ वटा साना–ठुला पार्टीहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गरिएको उनको भनाइ छ ।
उनले आजको जटिल राजनीतिक अवस्थामा निर्वाचन नै जनतामा जाने र नयाँ जनअनुमोदित प्रतिनिधि सभाले नै युवाका मागहरू सम्बोधन गर्ने उत्तम माध्यम भएको बताए ।
अध्यक्ष प्रचण्डले पार्टीको नयाँ चुनाव चिह्न ‘तारा’ बारे मतदातालाई स्पष्ट पार्न कार्यकर्ताहरूलाई निर्देशन दिए । सोसल मिडियालाई प्रचारको माध्यम बनाए पनि जनतासँगको प्रत्यक्ष भेटघाट र टोल–टोलको प्रचार नै बढी प्रभावकारी हुने उनको तर्क छ ।



