काठमाडौँ : नेपाली कांग्रेसले फागुन ७ गतेबाट चुनावी सभा थाल्ने भएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर जनकपुरमा सभा गर्न लागिएको हो ।
सभापति गगन थापा यसपटक सर्लाही-४ बाट चुनाव लड्दै छन् । पहिलो ठूलो सभा मधेशमै गर्ने कांग्रेसको रणनीति बनाएको छ । सभालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमहामन्त्री डिला सङ्ग्रौलाले बताइन् ।
उनले भनिन्, ‘प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ, त्यसपछि प्रदेश र जिल्ला अनुसार आवश्यकता अनुसारको पार्टीको नेताहरू चुनावी अभियानमा जाने तय भएको छ ।’
उनले समयले भ्याएसम्म सभापति थापा र उपसभापति शर्मा चुनावी अभियानका लागि देश दौडाहामा निस्कने तयारीमा रहेको पनि बताइन् ।
थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ भने शर्मा निर्वाचन परिचालन समितिको संयोजक हुन् । चुनावी सभालाई सम्बोधन गर्नको लागि सभापति थापा र शर्मा देश दौडाहामा लाग्ने तयारीमा छन् ।



